नेप्से ८ अंकले बढ्दा चार कम्पनीको करोडौंको सेयर किनबेच, ट्रेडिङ् बाहेक सबै समूह हरिया

  २०७६ मंसिर ११ गते १५:२२     विकासन्युज

काठमाडौं । बुधबारको नेप्से परिसूचक ८.३० अंकले उकालो लागेको छ । कारोबार खुलेदेखि उकालो लागेको बजार बन्द हुँदा अघिल्लो दिनको तुलनामा ०.७५ प्रतिशतले बढेर १११७.४६ अंकमा पुगेको छ ।

त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.७४ अंकले बढेर २४७.२३ अंकमा पुगेको छ ।
बजारमा कूल १६५ कम्पनीको २१ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये चार वाणिज्य बैंकको करोडौं बढीको सेयर किनबेच भएको छ । सबैभन्दा बढी एनएमबि बैंकको दुई करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको एक करोड ७४ लाख, नबिल बैंकको एक करोड ३४ लाख र नेपाल बैंकको एक करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सो दिन रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, गोखार्ज फाइनान्सका सेयरधनीले ९.४३ प्रतिशत कमाएका छन् ।

कारोबारमा आएका १२ समूहमध्ये ट्रेडिङ बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ६० अंकले बढेको छ । निर्जीवन बीमा २६, उत्पादनमूलक २२, माइक्रोफाइनान्स र विकास बैंक १४/१४, होटल १२, अन्य १०, हाइड्रो ७, फाइनान्स ५ र बैंकिङ ४ र म्युचअल फण्ड ०.२५ अंकले उकालो लागेका छन् । ट्रेडिङ समूह भने २६.१६ अंकले ओरालो लागेको छ ।

बुधबार साल्ट ट्रेडिङ कर्पोरेसनका सेयरधनीले ६.९२ प्रतिशत गुमाएका छन् । यस संस्थाको सेयर मूल्य ९९ रुपैयाँले घटेर प्रतिकित्ता १३३१ रुपैयाँमा झरेको छ ।