नेप्से १२ अंकले घट्दा चार वटा वाणिज्य बैंकको करोडौंको सेयर कारोबार

  २०७६ असोज २७ गते १५:३५     विकासन्युज

काठमाडौं । सोमबार नेप्से परिसूचक १२ अंकले ओरालो लागेको छ । बजार खुलेदेखि निरन्तर ओरालो लागेकाे नेप्से अघिल्लो कारोबारको तुलनामा  १.०५ प्रतिशतले घटेर ११३६.९६ अंकमा झरेको हो ।

दोहोरो अंकले घटेको बजारमा कूल १५४ कम्पनीको २१ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन चार कम्पनीको करोडौं बढीको सेयर किनबेच भएको छ । प्रभु बैंकको २ करोड ६५ लाख, सिद्धार्थ बैंकको २ करोड ६४ लाख, नबिल बैंकको एक करोड २६ लाख रुपैयाँ बराबरको साधारण सेयर किनबेच भएको छ । त्यस्तै, मेगा बैंकको एक करोड १६ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ ।

बजारमा कारोबारमा आएका १२ वटा समूहमध्ये ११ वटा समूह राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूह ५३ अंकले ओरालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा ४९, जीवन बीमा ३७, माइक्रोफाइनान्स १३.८५, बैंकिङ् १३.४५ र विकास बैंक ११ अंकले ओरालो लागेका छन् । म्युचअल फण्ड सामान्य ०.५ प्रतिशतले बढेको छ भने बाँकी समूह एकल अंकले घटेका छन् ।

घटेको बजारमा सबैभन्दा बढी राधी विद्युत कम्पनीको सेयर मूल्य ५.८४ प्रतिशतले बढेको छ । सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा बढी ६.४९ प्रतिशत गुमाएका छन् ।