नेप्से निरन्तर घटेर १३०० अंक तल, ६९ करोडको कारोबार हुँदा एनआईसी एसियाको सबैभन्दा बढी

  २०७६ जेठ २० गते १५:४१     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार निरन्तर ओरालो लागेर बन्द भएको छ । १३०६ अंकदेखि कारोबार शुरु भएको नेप्से दिनभर घटेर बजार बन्द हुँदा १२.८४ अंकले घटेर १२९२.८४ मा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९८ प्रतिशत घटी हो ।

बजारमा परिसूचक मात्रै नभएर कारोबार रकममा पनि गिरावट देखिएको छ । आइतबार ७५ करोडको कारोबार भएको बजारमा सोमबार जम्मा ६९ करोडको सेयर किनबेच भएको छ । सोमबार कुल १७१ कम्पनीको २१ लाख ७६ हजार कित्ता सेयर बिक्री भएका छन् ।

सो मध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ९ करोड रुपैयाँ बराबरको सेयर बिक्री भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ४६८ रुपैयाँ रहेको छ । त्यस्तै, शिवम् सिमेन्टको ६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सो दिन कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ६७ अंकले घटेको छ । उत्पादनमूलक र जीवन बीमा समूह ५४ अंकले घटेका छन् । त्यस्तै, ट्रेडिङ, फाइनान्स, अन्य र म्युचअल फण्ड समूह सामान्य अंकले घटेका छन् भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेका छन् ।

दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी तारगाँउ रिजेन्सी होटलका लगानीकर्ताले ७.५० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी पाँचथर पावर कम्पनीका सेयरधनीले ९.५२ प्रतिशत गुमाएका छन् ।

आगामी आर्थिक वर्षको बजेट सेयर बजारप्रति सकारात्मक हुँदा हुँदै पनि साताको शुरुदेखि बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । ‘सेयर बजार घट्नु पर्ने त्यस्तो कारण त केही छैन । असार मसान्त नजिकिँदै गर्दा बजार घट्छ भन्ने सोच लगानीकर्तामा परेकाले अहिले नै केही नाफा खाएर सेयर बेचिहालौं भन्ने प्रवृतिले बजार घटेको हुनसक्छ ।’ नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले विकान्युजसँग भनिन् ।