धितोपत्र बजारमा बोनसबाट मात्रै साढे २२ अर्बको सेयर थपियो, इन्भेष्टमेन्ट बैंकसहित ५ कम्पनीको अर्बौ बढी

  २०७६ जेठ २० गते १९:१९     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्ष शुरु भएयता धितोपत्र बजारमा बोनसबाट मात्रै २२ अर्ब ५८ करोड २१ लाख ४६ हजार १८१ रुपैयाँ बराबरको सेयर थपिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार करिब ११ महिनाको अवधिमा २३ करोड १८ लाख १६ हजार ५०८ कित्ता बराबरको बोनस सेयर सूचिकृत भएको हो ।

बोर्डका अनुसार ०७५ साउन एक गतेदेखि ०७६ जेठ २० गतेसम्ममा ७९ कम्पनीको सो मात्राको बोनस सेयर सूचिकृत भएको छ । सो अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्था, जलविद्युत, बीमा, होटल र अन्य गरी सो मात्राको बोनस सेयर बजारमा थपिएको हो । (क-कसले कति बाेनस  वितरण गरे ? हेर्न यसमा क्लिक गर्नुहोस् ।)

कम्पनी संख्याको आधारमा २१ माइक्रोफाइनान्स, २० वटा डेभलपमेन्ट बैंक, १९ वटा वाणिज्य बैंक, ७ फाइनान्स, ५ हाइड्रोपावर, २ बीमा, २ होटल, २ अन्य र १ ट्रेडिङ समूह गरी कूल ७९ कम्पनीको अर्बौको बोनस सेयर थपिएको हो ।

सो मध्ये विभिन्न ५ कम्पनीले एक अर्ब बढी रुपैयाँको सेयर वितरण गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, एनएमबि बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनीले एक अर्ब बढीको सेयर वितरण गरेका हुन् । जसमध्ये पनि सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ९४ करोड रुपैयाँ बराबरको बोनस सेयर सेयरधनीलाई वितरण गरेको थियो ।

रकमका आधारमा कम अर्थात १० हजार रुपैयाँ भन्दा कम बोनस सेयर वितरण गर्नेमा ५ कम्पनी रहेका छन् । समता लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त, सिभिल लघुवित्त, सूर्योदय लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले १० हजारभन्दा कम रुपैयाँ बराबरको बोनस वितरण गरेको हुन् । जसमध्ये पनि सबैभन्दा कम बोनस वितरण गर्नेमा समता लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाले आफ्ना सेयरधनीलाई ६ हजार ७०० रुपैयाँ बराबरको बोनस वितरण गरेको हो ।