दशैं लागेसँगै सेयर बजारमा छायो हरियाली, कारोबार रकममा पनि सुधार

  २०७६ असोज १४ गते १५:३१     विकासन्युज

काठमाडौं । दशैंको शुरुवातसँगै सेयर बजारमा पनि हरियाली छाएको छ । सोमबार दोहोरो अंकले उकालो लागेको बजार मंगलबार पनि दोहोरो अंकले बढेको छ ।

मंगलबारको नेप्से परिसूचक १०.१३ अंकले बढेको छ । साताको दुई दिनमै नेप्से परिसूचक करिब २१ अंकले उकालो लागेर मंगलबार ११४५ अंकमा पुगेको छ ।

बजारमा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार कूल १६४ कम्पनीको ३१ करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा १४ करोड रुपैयाँ बढी कारोबार भएको छ । सोमबार कूल १५७ कम्पनीको १६ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

मंगलबार ६ वटा कम्पनीको करोडौं बढीको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको ७ करोड रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । शिवम् सिमेन्टको ४ करोड, मेघा बैंकको एक करोड ३४ लाख, नेपाल दुरसञ्चारको एक करोड २९ लाख र हिमालयन डिष्टिलरीको एक करोड ६ लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्री भएका छन् । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ३ करोड बराबरको प्रमोटर सेयर किनबेच भएको छ ।

बजारमा निर्जीवन बीमा समूह सबैभन्दा बढी अंकले बढेको छ । सोमबार पनि दोहोरो अंकले बढेको उक्त समूह मंगलबार पनि ४९ अंकले उकालो लागेको छ । उत्पादनमूलक, होटल र म्युचअल फण्ड ओरालो लागेका छन् भने कारोबारमा आएका बाँकी समूह उकालो लागेका छन् ।

मंगलबार चार कम्पनीको सेयर मूल्य ६ प्रतिशत बढीले बढेको छ । सबैभन्दा बढी सिनर्जी पावर डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.८५ प्रतिशतले बढेको छ । त्यस्तै, यूनाईटेड फाइनान्सको ६.५९, रिलायन्स फाइनान्सको ६.३६ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६ प्रतिशतले बढेको छ । सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.०९ प्रतिशतले घटेको छ ।