ग्लोबल आईएमई बैंकको सेयरमा लगानीकर्ता आकर्षित, एकैदिन ६१ करोडको सेयर कारोबार

  २०७६ माघ ८ गते १५:३७     विकासन्युज

काठमाडौं । बुधबारको बजारमा लगानीकर्ताहरु ग्लोबल आईएमई बैंकको सेयरमा आकर्षित भएका छन् । जसले गर्दा बैंकको एकैदिन ६१ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त रकम दिनभरको कूल कारोबार रकमको ३८ प्रतिशत हो । बुधबारको बजारमा कूल एक अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कूल १७८ कम्पनीको ४९ लाख १४ हजार ४३७ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

बुधबार सबैभन्दा बढी कारोबार भएको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईको सेयर मूल्य प्रतिकित्ता ३०५ रुपैयाँ रहेको छ । जुन अघिल्लो कारोबारको तुलनामा एक रुपैयाँले बढेको हो । मंगलबार बैंकको सेयर मूल्य प्रतिकित्ता ३०४ रुपैयाँ रहेको थियो । त्यस्तै, नेपाल बैंकको ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबारको बजार ७ अंकले ओरालो लागेर १३१३.४२ अंकमा अडिएको छ । त्यस्तै, क वर्गको कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.१३ अंकले झरेर २८२.३० अंकमा रहेको छ ।

बजारमा जीवन बीमा बाहेक बाँकी समूह राताम्मे भएका छन् । जीवन बीमा समूह १६२ अंकले उकालो लागेको छ । होटल, निर्जीवन र उत्पादनमूलक तीन वटै समूह २३ अंकले ओरालो लागेका छन् ।

बुधबार बढी कमाउनेको सूचीमा जीवन बीमा कम्पनी अग्रस्थानमा रहेका छन् । सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ८.४७ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२५ रुपैयाँ रहेको छ । त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता ५४१ र ४२२ रुपैयाँ रहेको छ ।

बुधबार पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात ८.७० प्रतिशत गुमाएका छन् ।