२०७४ भदौ २९ गते १९:३३ विकासन्युज
काठमाडौँ, २९ भदौ । सरकारले चीन सरकारसँग ऊर्जा क्षेत्रको पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकाे छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १०० दिन पुगेका अवसरमा यहाँँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा ऊर्जा क्षेत्रको बिस्तृत विकास र विकासका लागि चीन सरकारसँग समझदारीपत्रमा हस्ताक्षर भएको जनाएको छ ।
उपप्रधान एवं परराष्ट्रमन्त्रीको केही दिनअघि सम्पन्न चीन भ्रमणका समयमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रअनुसार नेपाल र चीनबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा नेपालको जलविद्युत् क्षेत्रमा थप लगानी भित्रने विश्वास सरकारले लिएको छ ।
यस्तै मुलुकका विभिन्न नदी जलाधार क्षेत्रमा अध्ययन गर्नसमेत उक्त समझदारीपत्रमा भएको हस्ताक्षरपछि मार्ग प्रशस्त भएको छ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सम्झौता नेपालको सन्दर्भमा महत्वपूर्ण भएको बताए।
यस्तै विद्युत् उत्पादन कम्पनीले आयोजना विकासका लागि किमाथांका अरुण, जगदूल्ला, फूकोट कर्णाली लगायतका विद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढाएको समेत सो अवसरमा जानकारी दिइयो ।
यस्तै प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा रक्सौल–परवानीपुर र कुशाहा–कटैया १३२ केभी क्षमताको प्रसारण लाइनको संयुक्तरुपमा उद्घाटन भएको समेत सरकारको १०० दिनको प्रगतिमा समेटिएको छ ।
ती दुवै प्रसारण लाइनबाट थप ५०/५० मेगावाट विद्युत् आयात गर्न सकिने र आगामी हिउँदमा हुनसक्ने विद्युत्को उच्च मागलाई सम्बोधन गर्न सकिने सरकारको विश्वास लिइएको छ । ती प्रसारण लाइन विगत छ महिना पहिल्यै निर्माण भएको भए पनि भारतसँग सम्झौता नहुँदा विद्युत् आयात गर्न सकिएको थिएन । प्रधानमन्त्रीको भारत भ्रमणपछि ती प्रसारण लाइनको उद्घाटन गरिएको हो । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.