करको दायरा बढाउँदा २ लाख नयाँ करदाता थपिए

  २०७४ भदौ ५ गते १४:४८     विकासन्युज

काठमाडौं । सरकारले कर प्रशासनमा सुधार गरी दायरा बढाएपछि एक वर्षमा झण्डै २ लाख नयाँ करदाता थपिएका छन् । गत आर्थिक वर्ष ०७३/०७४ मा १ लाख ९२ हजार ७८६ नयाँ करदाता थप भएका छन् । यो समेत गरी मुलुकभर करको दायरामा आउनेको संख्या १६ लाख २३ हजार २३१ पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

अघिल्लो आवमा १४ लाख ३० हजार ४४५ करको दायरामा थिए । कुल जनसंख्याको झण्डै ६ प्रतिशत हारहारीमा मात्र करको दायरामा आएको सरकारी तथ्याँक छ । पछिल्लो ५ वर्षयता मदिरा र चुरोटजन्य बाहेक अन्य बस्तुको कर नीतिमा खासै परिवर्तन नगरी दायरा विस्तारमा जोड दिएकाले करदाताको संख्या थप भएको हो । पछिल्लो समय प्रशासनमा सुधार र दायरा विस्तारले कर असुली लक्ष्य भन्दा बढी हुन थालेको छ ।

गत आर्थिक वर्ष ०७३/०७४ मा सरकारले लक्ष्य ४७ अर्ब रुपैयाँ बढी कर असुली गरेको छ । गत आवमा सरकारले ५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ कर असुलीको लक्ष्य निर्धारण गरेकोमा आव अन्त्यसम्म ६ खर्ब ११ अर्ब ७६ करोड ७८ लाख रुपैयाँ असुली भएको छ । चाल आवमा सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

पछिल्लो समयमा करधारको विस्तार र कर प्रणाली सुध्रिढीकरण हुदै गएको छ । करको दायरा विस्तार, कर परिपालनाको स्तरमा अभिवृद्धि, राजश्व प्रशासनमा प्रविधि उन्मुख सेवाको विकास र विस्तार, चुहावट नियन्त्रण र प्रशासकीय सुधारबाट लक्ष्य भन्दा बढी राजश्व संकलन भएको हो । ५ वर्षयता राजश्व प्रशासनमा भएकाले सुधारले वार्षिक राजश्व दर २७ प्रतिशतसम्म वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.