२०७४ साउन १ गते ८:५८ विकासन्युज
काठमाडौं । भारतीय दबावपछि क्लिन फिड कार्यान्वयन नीतिबाट सरकार पछि हटेको छ । नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुलाई विज्ञापन रहित बनाउने पुर्ववर्ति सरकारको निर्णयबाट वर्तमान सरकार पछि हटेको हो । क्लिन फिड कार्यान्वयन रोकिँदा नेपाली विज्ञापन व्यवसायीहरुले ५ अर्बको बजार गुमाएका छन भने राज्यले करोडौं राजश्व पनि गुमाउन पुगेको छ ।
तत्कालिन केपी ओली सरकारको अन्तिम मन्त्रिपरिषद बैठकले क्लिन फिड कार्यान्वयन गर्ने निर्णय गरेको थियो । करिब एक बर्षको तयारी गरेको सूचना तथा सञ्चार मन्त्रालयले फेरी पनि तयारी नपुगेको भन्दै क्लिन फिड कार्यान्वयन नगरेको हो । क्लिन फिड कार्यान्वयन रोक्न केलब टेलिभिजन प्रशारक महासंघले ठुलै दबाब दिएको थियो ।
उता, ब्रोड कास्टर्स एसोसियसन, नेपाल पत्रकार महासंघ र नेपाल विज्ञापन संघले भने क्लिन फिड कार्यान्वयन गर्नुपर्ने बताउँदै आएको थियो । नेपालमा क्लिन फिड लागु नगर्न भारतीय टेलिभिजन प्रशारकको दबावले समेत दबाव दिँदै आएको थियो । केलब टेलिभिजन प्रशारक महासंघले सबै टेलिभिजनको प्रसारण रोक्ने भन्दै आन्दोलनको कार्यक्रम नै सार्वजनिक गरेका थिए ।
सूचना तथा सञ्चार मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै भनेको छ-‘यस मन्त्रालयबाट डाउनलिङ्क अनुमति लिई नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलहरुको प्रसारण मिति २०७४ श्रावण १ गतेदेखि विज्ञापनरहित हुनुपर्ने भनी मिति २०७४।३।२९ गतेको गोरखापत्रमा सूचना प्रकाशित भएकोमा मन्त्रालयबाट नीतिमा उल्लेखित कतिपय कार्यहरु सम्पादन गर्न बाँकी रहेकोले तत्कालका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.