यी हुन् देशको अर्थतन्त्र धानिरहेका प्रमुख १२ भन्सार

  २०८१ जेठ ९ गते ११:१५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को बैशाखसम्म कुल १३ खर्ब ३ अर्ब ३५ करोडबराबरको वस्तु आयात भएको छ भने कुल १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात २.३९ प्रतिशत र निर्यात ३.६१ प्रतिशतले घटेको छ ।

यो अवधिमा कुल १४ खर्ब २९ अर्ब ५३ करोड बराबरको वैदेशि व्यापार भएको छ । यो व्यापार देशका विभिन्न भन्सार कार्यालयमार्फत् भएको हो । विभागको तथ्यांकअनुसार सबैभन्दा बढी निर्यातको हिस्सा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ओगेटेको छ भने आयातको हिस्सा विरगञ्ज भन्सार कार्यालयले ओगेटेको छ ।

विभागको तथ्यांकअनुसार त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट १० महिनाको अवधिमा १ खर्ब १७ अर्ब ५९ करोड ९३ लााख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने कुल २८ अर्ब ३६ करोड ६२ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । यो अवधिमा यस भन्सार कार्यालयको कुल आयातमा ९.०२ प्रतिशत हिस्सा छ भने निर्यातमा कुल २२.४८ प्रतिशत हिस्सा रहेको छ ।

यस्तै, १० महिनाको अवधिमा बिराटनगर भन्सार कार्यालयमार्फत् कुल १ खर्ब ३८ अर्ब ६९ करोड ५२ लाख रुपैयाँबराबरको वस्तु आयात भएको छ भने कुल २५ अर्ब ४९ करोड ८६ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । यस भन्सार कार्यालयको कुल आयातमा १०.६४ प्रतिशत र निर्यातमा २०.२१ प्रतिशत हिस्सा रहेको छ ।

उच्च व्यापार गर्ने भन्सार कार्यालयमा विरगञ्ज भन्सार कार्यालय पनि पर्छ । यस कार्यालयले १० महिनाको अवधिमा कुल ४ खर्ब ४७ अर्ब ३४ करोड रुपैयाँबराबरको वस्तु आयात गरेको छ भने कुल २५ अर्ब ४७ करोड ७६ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ । कुल आयातमा यस भन्सार कार्यालयको हिस्सा ३४.३२ प्रतिशत रहेको छ भने निर्यातमा २०.१९ प्रतिशत हिस्सा छ ।

मेची भन्सार कार्यालयले कुल ३६ अर्ब ४६ करोड ४५ लाख रुपैयाँबराबरको वस्तु आयात गरेको छ भने कुल २० अर्ब २६ करोड ७६ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ । यस भन्सार कार्यालयको कुल आयातमा २.८० प्रतिशत र निर्यातमा १६.०६ प्रतिशत हिस्सा रहेको छ ।

भैरहवा भन्सार कार्यालयले पनि सन्तोषजनक रुपैयाँ कारोबार गर्दै आएको छ । १० महिनाको अवधिमा यस भन्सार कार्यालयले १ खर्ब ९६ अर्ब ८१ करोड ७६ लाख रुपैयाँबराबरको वस्तु आयात गरेको छ भने ११ अर्ब ३२ करोड १८ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ । यस कार्यालयको कुल आयातमा १५.१० प्रतिशत र निर्यातमा ८.९७ प्रतिशत सेयर हिस्सा छ ।

जलेश्वर भन्सार कार्यालयले पनि १० महिनाको अवधिमा कुल ८ अर्ब ५१ करोड २४ लाख रुपैयाँबराबरको वस्तु आयात गरेको छ भने कुल ३ अर्ब ६८ करोड ५६ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ । यस भन्सार कार्यालयले कुल आयातको ०.६५ प्रतिशत आयात र कmु निर्यातको २.९२ प्रतिशत हिस्सा ओगटेको छ ।

कृष्णनगर भन्सार कार्यालयले पनि यो अवधिमा कुल १८ अर्ब ३१ करोड ६४ लाख रुपैयाँबराबरको वस्तु आयात गरेको छ भने कुल २ अर्ब ८२ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ । यस कार्यालयले पनि कुल आयातमा १.४१ प्रतिशत र निर्यातमा १.५९ प्रतिशत सेयर हिस्सा ओगटेको छ ।

नेपालगञ्ज भन्सार कार्यालय पनि बढी कारोबार हुने कार्यालयमा पर्छ । यो अवधिमा यस भन्सार कार्यालयबाट कुल ५८ अर्ब ४१ करोड १४ लाख रुपैयाँबराबरको वस्तु आयात भएको छ भने कुल १ अर्ब ९८ करोड ३९ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । यस कार्यालयले कुल आयातमा ४.४८ प्रतिशत र कुल निर्यातमा १.५७ प्रतिशत सेयर हिस्सा ओगटेको छ ।

रसुवा भन्सार नाका चीनतर्फको नाका हो । पछिल्लो समय चीनचर्फका नाकाको व्यापार बढेको देखिन्छ । १० महिनाको अवधिमा रसुवा नाकाबाट कुल ४६ अर्ब २९ करोड ७१ लाख रुपैयाँबराबरको वस्तु आयात भएको छ । जुन कुल आयातमा ३.५५ प्रतिशत हिस्सा हो । यस्तै सो नाकाबाट कुल १ अर्ब ५३ करोड ८७ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । यो भनेको कुल निर्यातमा १.२२ प्रतिशत हो ।

यस्तै, १० महिनाको अवधिमा कैलाली भन्सार कार्यालयबाट पनि राम्रै व्यापार भएको देखिन्छ । कैलाली भन्सार नाकाबाट यो अवधिमा कुल १९ अर्ब १ करोड २३ लाख रुपैयाँ आयात भएको छ भने कुल ५६ करोड १६ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । यस भन्सार कार्यालयको कुल आयातमा १.४६ प्रतिशत र निर्यातमा ०.४५ प्रतिशत हिस्सा ओगटेको छ ।

सर्लाही भन्सार कार्यालय र तातोपानी भन्सार कार्यालयले पनि अन्य भन्सार कार्यालयको तुलनामा राम्रै व्यापार गरेको देखिन्छ । सर्लाही भन्सार कार्यालयबाट १० महिनाको अवधिमा कुल २ अर्ब २५ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन कुल आयातमा ०.१७ प्रतिशत हो । यस्तै, सो भन्सार कार्यालयबाट कुल १ अर्ब ३७ करोड ४५ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । जुन कुल निर्यातमा १.०९ प्र्रतिशत हो ।

तातोपानी भन्सार भन्सार कार्यालयबाट पनि यो अवधिमा राम्रो आयात निर्यात भएको देखिन्छ । यो अवधिमा तातोपानीबाट कुल ३१ अर्ब २ करोड ७२ लाख रुपैयाँबराबरको वस्तु आयात भएको छ । जुन कुल आयातमा २.३८ प्रतिशत हिस्सा हो । यो नाकाबाट कुल ९३ लाख रुपैयाँको मात्रै वस्तु निर्यात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.