७० प्रतिशत मत ल्याएर चुनाव जित्छु–शेखर गोल्छा

  २०७३ चैत २२ गते १३:२८     विकासन्युज

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् उद्यमी शेखर गोल्छाले । हाल एशोसिएट उपाध्यक्ष रहेका गोल्छाको लागि महासंघको टप नेतृत्वमा पुग्ने यो अन्तिम खुड्किलो हो । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए भने तीन वर्षपछि स्वतः अध्यक्ष बन्ने छन् । नेपालका पुरानो र ठूलो व्यवसायिक घराना गोल्छा हाउसबाट प्रतिनिधित्व गर्ने भएकोले पनि उनको उम्मेदवारी बढी चासो र महत्वको बनेको छ । के छन् त शेखर गोल्छाको चुनावी अजेण्डा, तयारी, रणनीति र गतिविधि ? प्रस्तुत छ गोल्छासँग सम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस ।  

चुनावमा भोट माग्दा के के एजेण्डा राख्नुभएको छ ?

चेम्बर आन्दोलनमा मैले दुई दशकभन्दा बढी समय दिएको छु र महासंघको कार्यसमिति सदस्य तथा उपाध्यक्ष गरी १० वर्ष काम गरेको छु । म महासंघको नेतृत्व गर्न सक्षम छु र मैले नेतृत्वको लागि उम्मेदवारी दिएको छु ।

म बरिष्ठ उपाध्यक्षमा उठेको छु । चुनाव जितेपछि पहिलो तीन वर्ष अध्यक्ष भवानी राणालाई सघाउँछु । उहाँको भिजन, मिसनलाई सफल बनाउन मद्दत गर्छु । संशोधिन विधानको मर्म पनि यहि हो ।

त्यसबाहेक मेरा केही सपना छन् । उद्योग वाणिज्य महासंघलाई थिङ ट्याङको रुपमा विकास गर्न चाहान्छु । यसको सचिवालय चुस्त दुरुस्त बनाउन चाहान्छु । सचिवालयलाई जिम्मेवार र पारदर्शी बनाउन चाहान्छु ।

जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको लागि सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसँग समन्वय गरी अलि बढी कार्यक्रम ल्याउन प्रयास गर्ने छु । त्यस्तै, मैले अहिले काम गरिरहेका श्रम ऐन, सामाजिक सुरक्षा ऐन अन्तिम चरणमा पुगेको छ, त्यसलाई संसदबाट पास गराउनेतर्फ काम गर्नेछु ।

भोट माग्ने क्रममा भोटरहरुले तपाई समक्ष कस्ता माग राखे ? महासंघका सदस्यहरुले कस्तो सेवाको अपेक्षा राखेका छन् ?

महासंघमा १०४ जिल्ला नगर उद्योग वाणिज्य संघ सदस्य छन् । ९९ वस्तुगत संघ सदस्य भएका छन् । ८०० भन्दा बढी एसोसिएट सदस्यहरु छन् । सदस्यता बढ्ने क्रम तीब्र रुपमा बढेको छ । नेपाल उद्योग वाणिज्य महासंघको हाइट धेरै बढीसकेको छ । महासंघका सबै सदस्यहरु कुनै न कुनै रुपमा महासंघका गतिविधिमा सहभागी हुन चाहान्छन्, जोडिन चाहान्छन् ।

चुनावी अभियानको क्रममा म ५० जिल्लामा भ्रमण गरेँ । जिल्ला उद्योग वाणिज्य संघका साथीहरुको कुरा सुनेँ । ७० प्रतिशत समस्या समान छन् । ती समस्या समाधान गर्न हामी सबै लाग्ने हो ।

मैले केमा जोड दिएको छु भने समस्या समाधान गर्नुमात्र महासंघको काम होइन, नयाँ अवसरको खोजी गर्नुपर्छ, जसले अझ बढी उद्योग र व्यापार फस्टाओस, अझ बढि समृद्धि छाओस ।

५० वटा जिल्ला भ्रमण गर्दा क–कसलाई के–के कमिटमेन्ट गर्नुभयो ?

जिल्लाहरुमा मुख्य तीन प्रकारका समस्या छन् । पहिलो, स्थानीय समस्या छन्, जस्तै कही सडकको कमी छ, कही पुल छैन, कही सीमानाका समस्या छन् । दोस्रो, नीतिगत समस्या जस्तै, थ्रेसहोल्डको समस्या, मिसम्याचको समस्या, करका दरको समस्या । उनीहरु चाहान्छन् कि यस्तो समस्या केन्द्रले उठाईदियोस् । तेस्रो, सम्बन्धको समस्या छ जस्तै, ओडीओपी, ओभीओपी, महासंघ र जिल्ला तथा नगर उद्योग वाणिज्य संघबीच मिलेर गरिएका अन्य कार्यक्रम । ती समस्याहरु समाधान गर्ने मेरो प्रतिवद्धता हो ।

मैले हेलिकप्टर चार्टर गरेको सत्य हो । धेरै ठाउँमा गाडीमा गए र केही जिल्लामा हेलिकप्टर मै गए । हेलिकप्टर चार्टर मेरो निजी खर्चमा भएको छ । मसँग क्षमता छ भने मैले किन खर्च नगर्ने ?

तपाईले चुनाव जित्नुहुन्छ ?

म ढुक्क छु, चुनाव जित्छु । मत मेरो पक्षमा छ । ७० प्रतिशत मत पाएर चुनाव जित्छु ।

जित्नुभयो भने हार्ने टिमप्रति कस्तो व्यवहार गर्नुहुन्छ ?

उनीहरुलाई पनि टिममा सामेल गरेर महासंघलाई अगाडि बढाउने छु ।

हार्नुभयो भने ?

किशोर प्रधानजीलाई सबैभन्दा पहिला म माला लगाईदिन्छु, बधाई दिन्छु र उहाँलाई सहयोग गर्ने विश्वास दिएर बाहिरिने छु ।

तपाईको प्रतिस्पर्धी किशोर प्रधानको कमजोरी के हो ?

किशोर दाईलाई मैले चिनेको २५ वर्ष भईसक्यो । उहाँले चेम्बर मुभमेन्टलाई, महासंघलाई धेरै योगदान दिनुभएको छ । तर अहिले महासंघको नेतृत्व लिनको लागि उहाँ भन्दा म बढी सक्षम छु ।

यसपटक निर्वाचित हुनु भनेको आगामी ६ वर्ष महासंघको नेतृत्व गर्ने जिम्मेवारी तपाईले पाउनु हो । ६ वर्षमा महासंघमा के के परिवर्तन ल्याउनुहुन्छ ?

आगामी १० वर्षमा देशले पुरै काचुली फेर्नेछ । महासंघले फेर्ने होइन, देशविकासको महत्वपूर्ण आधार बनेको छ । संविधान बनेको छ, चुनाव हुँदैछ, देशमा राजनीतिक स्थायीत्व हुँदैछ र आर्थिक विकासका अजेण्डाले प्राथमिकता पाउँदैछ ।

आर्थिक विकासको अभियानमा महासंघ धेरै भन्दा धेरै मानिसलाई सहभागी गराउन चाहान्छ । नीजि क्षेत्रको क्षमता विकासका लागि देश विदेशबाट लिन सक्नेसम्मको सहयोगलाई लिएर जिल्ला जिल्लामा पुर्याउने काम गर्नेछु । ठूला साना सबै उद्योगलाई म एउटै तराजुमा राखेर हेर्नेछु  । त्यसको लागि सचिवालय बलियो बनाउनुपर्छ ।

महासंघको हेरेक चुनावमा हरेक उम्मेदवारको नारा बन्दै आएको छ ‘सचिवालय सुधार’ । अहिले पनि तपाई महासंघको पावरफुल उपाध्यक्ष हुनुहुन्छ तर सचिवालयको कार्यकारी प्रमुख पद विगत एक वर्षदेखि खाली छ । महासंघको सचिवालयले पूर्व अध्यक्षहरुलाई चिठ्ठी पनि पुर्याउँदैन भन्ने कुरा बारम्बार आएको छ । तपाईले गर्न चाहेको सुधार के हो ?

मेरो स्पेशलाईजेशन पिपुल म्यानेजमेन्टमा हो, सिस्टम म्यानेजमेन्टमा हो । म यस्तो अर्गनाईजेशनबाट आएको व्यक्ति हुँ जसले १६ हजार मानिसलाई रोजगारी दिएको छ । नेपालमा पहिलोपटक उद्योग खोल्ने अर्गनाईजेशनबाट आएको छु । प्रोफेशनल म्यानेजमेन्ट कसरी गर्नुपर्छ मलाई राम्रो ज्ञान छ ।

महासंघमा पनि प्रोफेशनल म्यानेजमेन्ट जरुरी छ । प्रोफेसनल डिजी आवश्यक छ, त्यहाँका कर्मचारीको क्षमता विकास गर्नुछ । त्यसपछि सचिवालयको कार्यसम्पादन क्षमतामा सुधार आउनेछ । आईटीको प्रयोग गरेर कम्यूनिकेशन सिस्टममा सुधार जरुरी छ । जिल्लाको समस्याहरुको बारेमा लगबुक मेन्टेन गरेर समाधान गर्दै जानुपर्छ । हरेक प्रोसेस पारदर्शी बनाउँदै जानुपर्छ ।

तपाईले महासंघको सचिवालयको मात्र सुधारको कुरा गर्नुभयो । केही जिल्ला नगर उद्योग वाणिज्य संघ, बस्तुगत संघ कार्यलय विहिन/अस्तव्यस्त छन्, उनीहरुको क्षमता विकासबारे तपाईको योजना के छन् ?

तपाईको भनाई ठिक छ । धेरै जिल्ला तथा नगर उद्योग वाणिज्य संघको सचिवालय राम्रो र व्यवस्थित छ । केही कमजोर छन् । बस्तुगत संघहरुको पनि क्षमता विकास जरुरी छ । त्यसतफै पक्कै पनि हामी केही काम गर्छौ ।

सचिवालयमा राख्ने भनिएको थिङक ट्याङकले के काम गर्छ ?

सचिवालयमा विज्ञ समूह बनाउँछौ । त्यो समूहले हरेक साता वा १५/१५ दिनमा हरेक आर्थिक गतिविधिलाई सुक्ष्म अध्ययन गरी त्यसबाट पर्ने असरबारे रिपोर्ट दिन्छ । त्यो रिपोर्टको आधारमा हामी सरकारलाई सुझाव दिन्छौं ।

सबैलाई थाहा छ कि नेपालमा उद्योग नखुल्नु, रोजगारी सिर्जना नहुनु, आन्तरिक उत्पादन कम हुनु, आयात बढ्नु, निर्यात नबढ्नु अर्थतन्त्रको मुख्य समस्या हुन् । अर्थविद्हरुले भनिरहेका छन् कि उद्योग चाहियो जसले रोजगारी पनि बढाउँछ, निर्यात पनि बढाउँछ । औद्योगिकरणको विषयलाई तपाईले चुनावी नारा किन बनाउनु भएन ?

कुल ग्राहस्थ उत्पादनमा उद्योगको योगदान घट्दै गएको छ । पहिला १४ प्रतिशत थियो, अहिले ५ प्रतिशत मात्र छ । यसमा २/३ वटा कारण छन् । जब सरकार राजश्वमुखी बन्छ, नीजि क्षेत्र व्यापार तिर जान्छ । जब सरकारले रोजगारी सिर्जन गर्ने, उत्पादन बढाउने नीति लिन्छ तब उद्योग पनि खुल्न थाल्छन् । तर राजनीतिक अवस्थामा सरकार पनि राजश्वमुखी भयो, देश व्यापार तिर गयो, रोजगारीको लागि मानिस विदेश जान बाध्य भए ।

आर्थिक रुपमा कमजोर संघको क्षमता विकासमा खर्च भएको छ भने म त्यसलाई गलत भन्दिन र यस्तो खर्चलाई चुनावसँग जोड्न मिल्दैन । तर निजी स्वार्थको वा भोटको लागि खर्च भएको छ भने त्यो गलत हो, त्यो गलत काम म गर्दिन ।

एक त उद्योगको लागि बजार सानो छ । दोस्रो, बिजुली थिएन, उद्योग मैत्री ऐन कानुन भएन । पूर्वाधार कमी थियो । पछिल्लो समय विद्युत आपूर्तिमा सुधार भएको छ, ऐन कानुनमा सुधार आएको छ, सरकारले पूर्वाधार निर्माणमा बजेट बढाएको छ । अब उद्योगको लागि अनुकूल वातावरण बन्दैछ । महासंघको नेतृत्वले यसतर्फ महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।

राजनीतिक नेतृत्व वा प्रशासनिक संयन्त्रले जहिले पनि आलोचना गर्दै आएको छ कि निजी क्षेत्रमा स्वच्छ व्यवसाय गर्ने संस्कारको विकास हुन सकेन । स्वच्छ व्यवसाय गर्नेलाई प्रोत्साहित गर्न महासंघले किन काम गरिरहेको छैन र स्वच्छ व्यवसायकि वातावरण निर्माण गर्ने एजेण्डा महासंघको चुनावमा किन उठ्दैन ?

मुल्य अभिवृद्धि कर लागु भएपछि नेपालमा कर प्रणालीमा धेरै सुधार आएको छ र फेयर विजनेशको वातावरण बन्दै गएको छ । मलाई लाग्छ, ९० प्रतिशत बिजनेश ट्याक्सको परिधिमा छ, पारदर्शी छ । खुला बजार बढी नाफा लिन प्रयास गर्नु गलत होइन ।

अब विधानको बारेमा कुरा गरौं । महासंघले पूर्वअध्यक्षहरुको असन्तुष्टिका बीच विधान संशोधन गर्यो । अहिले पनि पूव अध्यक्षहरु विधान संशोधन गर्नु गल्ती थियो, भूल भयो भनेर सार्वजनिक रुपमा बोलिरहनु भएको छ । पूर्वअध्यक्षहरुले गलत व्याख्या गरिरहेका हुन् कि तपाईहरुले महासंघलाई गतल बाटोमा लग्दै हुनुहुन्छ ?

विधान संशोधनले महासंघ अझ सुधार हुँदैछ । वरिष्ठ उपाध्यक्षले तीन वर्षसम्म आफूलाई ग्रुम गर्न पाउँछ, विभिन्न क्षेत्रलाई नजिकबाट हेर्न पाउँछ । वरिष्ठ उपाध्यक्षले अध्यक्षता लिनको लागि राजनीति गर्नु आवश्यक पर्दैन । जब बरिष्ठ उपाध्यक्ष हुन्छ तब राजनीतिकबाट मुक्त पनि हुन्छ । बरिष्ठ उपाध्यक्ष भएको तीन वर्षपछि विधानअनुसार अध्यक्ष भईहाल्छ । उसले सहि तरिकाले काम गर्न पाउँछ । यो कुनै नौलो प्रयोग पनि होइन । फिक्की, सीआईआई, सीएनआईमा पनि छ । त्यसकारण विधान संशोधन संस्थाको लागि एकदमै राम्रो निर्णय हो ।

‘जब बरिष्ठ उपाध्यक्ष हुन्छ तब राजनीतिकबाट मुक्त पनि हुन्छ’ भन्ने भनाई त वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणाको व्यवहारले गलत सावित गरिसक्यो नि । तपाईलाई भन्दा बढी चुनाव उहाँलाई लागेको देखिन्छ ?

मलाई त्यस्तो लाग्दैन । आफूपछिको नेतृत्वमा बेटर मान्छे आवस भन्ने चाहाना सबैलाई हुन्छ । मलाई लाग्छ उहाँ त्यही भूमिकामा हुनुहुन्छ ।

विधान संशोधनको महत्वपूर्ण भाव के थियो भने अध्यक्ष पदमा चुनाव धेरै महँगो, जटिल भयो, चुनावमा ग्रुपिजम भयो, निर्वाचनपछि पराजित समूहले महासंघलाई सहयोग गरेन । तर विधान संशोधनपछि वरिष्ठ उपाध्यक्षको निर्वाचन अध्यक्षको भन्दा महँगो, पेचिलो, ग्रुपिजम देखियो नि ?

म यसमा दुईवटा कुरा भन्छु । एउटा चुनाव नीतिगत रुपमा गलत काम होइन, प्रजातान्त्रिक अभ्यास हो र यसले संस्थालाई बलियो नै बनाउँछ । चुनाव जितेपति अहंकार गर्नु, हारेपछि प्रतिशोध लिन समस्याको जड हो । यो मनस्थितिबाट हामी बाहिर जानुपर्छ । हुनसक्छ चुनाव पहिला अध्यक्षको जस्तै अहिले वरिष्ठ उपाध्यक्ष पदको लागि हुन्छ । तर तीन वर्षपछि कुलिङ टाइम हुन्छ । त्यसपछि सबैको अध्यक्ष बन्न सक्छ । अर्कोकुरो पहिला पहिला भन्दा अहिलेको चुनाव महँगो छैन, कम खर्च भएको छ ।

विगतका चुनावमा अध्यक्षको उम्मेदवार गाडी लिएर भोट माग्न जिल्ला भ्रमणमा जान्थे, तपाई हेलिकप्टर लिएर भोट माग्न जानुभयो, कसरी भयो सस्तो चुनाव ?

यो सरकारी चुनाव होइन । करको दुरुपयोग गरेर, राज्यको ढुकुटी खर्च गरेर हेलिकप्टर उडाएको पनि होइन । महासंघको चुनाव निजी क्षेत्रको चुनाव हो, उद्योग व्यवसायीको चुनाव हो । सरकारी निकायको चुनाव भन्दा महासंघको चुनाव अलि खर्चिलो हुन्छ । मैले हेलिकप्टर चार्टर गरेको सत्य हो । धेरै ठाउँमा गाडीमा गए र केही जिल्लामा हेलिकप्टर मै गए । हेलिकप्टर चार्टर मेरो निजी खर्चमा भएको छ । मसँग क्षमता छ भने मैले किन खर्च नगर्ने ?

मैले कर तिरेको ह्वाइट मनि खर्च गरेको हुँ । मैले कर तिरेर कमाएको पैसा साथीहरुको सुख दुःखमा खर्च गर्छु भने त्यो कसरी गलत हुन सक्छ ? मैले गलत गरे भन्ने मलाई लाग्दैन । म फेरी पनि महासंघको काममा आवश्यक पर्दा हेलिकप्टर चार्टर गर्छ ।

उद्यमी व्यापारीहरुले घरमै हेलिप्याड राख्नु, निजी हेलिकप्टर तथा प्लेन राख्नु, आफ्नो कामको सिलसिलामा निजी प्लेनमा यात्रा गर्नु नयाँ कुरा होइन, विश्वभर देखिएकै विषय हो । तर महासंघमा अध्यक्षको लागि भन्दा उपाध्यक्षको लागि चुनाव महँगो भयो कि भन्ने मेरो प्रश्न ?

चुनावको क्रममा ५० वटा जिल्ला घुम्दा मैले एक पटक पनि वालेट निकालिन । डिजेलको लागि मैले पैसा तिरेँ हेलिकम्पटरको पैसा मैले तिरेँ । होटलमा बस्न, खान, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेको खर्च सबै जिल्लाका साथीहरुले गरे । जिल्लाका साथीहरु सक्षम छन्, मैले खर्च गर्नु परेन । यो उद्योगी व्यापारीको चुनाव हो । अलिकति खर्च पक्कै पनि हुन्छ । बुटवलमा भव्य ठूलो कार्यक्रम भयो । ६० जिल्लाबाट साथीहरु आए । मैले एक पैसा खर्च गर्नु परेन । हेटौडामा, जनकपुरमा, विराटनगरमा, नेपालगञ्जमा धेरै ठूला कार्यक्रम भए, मैले र राजधानीबाट गएका मेरा साथीहरुले एक पैसा पनि खर्च गर्नुपरेन, सबै जिल्लाका साथीहरुले खर्च गरे । तर पैसा तिरेर भोट किनेकोसम्म आरोप लाग्छ । त्यो सबै गलत हो ।

तपाईले उठाउनुभयो भोट किन्ने कुरा । महासंघका पूर्वअध्यक्षहरुले अनौपचारिक कुराकानीमा भन्नुहुन्छ, चुनाव जित्न अन्तिममा जिल्लाको १५ देखि १७ भोट किन्नै पर्छ । यो चुनावका भोट किनबेच हुन्छ कि हुन्न ?

हुँदैन । आर्थिक रुपमा कमजोर संघको क्षमता विकासमा खर्च भएको छ भने म त्यसलाई गलत भन्दिन र यस्तो खर्चलाई चुनावसँग जोड्न मिल्दैन । तर निजी स्वार्थको वा भोटको लागि खर्च भएको छ भने त्यो गलत हो, त्यो गलत काम म गर्दिन । जमाना पहिला जस्तो छैन । १०४ उद्योग वाणिज्य संघ मध्ये ९० भन्दा बढीको आफ्नै भवन छ । जिल्ला, नगर, वस्तुगत वा एसोसिएट भोट पैसाले किनिन्छ भन्ने कुरा कसैले नसोचे हुन्छ ।

तपाईले महासंघमा आफ्नो परिवारले तीन पुस्तादेखि योगदान गरेको बताउँदै आउनुभएको छ । चुनावमा यो कुरालाई तपाईले जोड दिएर उठाउनुको कारण के हो ?

यस संस्थासँग म भावनात्मक रुपमा जोडिएको छु । महासंघ बनाउने, देशभरका निजी क्षेत्रका संस्थालाई जोडेर बलियो संस्था बनाउने सोच राख्नेमा मेरा बुवा हुलासचन्द्र गोल्छा । महासंघको विधान उहाँले नै तयार गर्नुभयो । चेम्बरको लागि उहाँले धेरै समय दिनुहुन्थ्यो । संस्था बलियो भयो भने आफ्ना समस्या यी संस्थाबाट अगाडि बढाउन सकिन्छ भन्ने कुरा उहाँले मलाई बुझाउनु भएको थियो । महासंघको कुनै पनि कार्य समितिमा हाम्रो संस्थाको प्रतिनिधि रहन्थ्यो । यो संस्थालाई निरन्तर माया गर्ने र यो संस्थालाई बलियो बनाउने हाम्रो विगतको प्रयास सम्झाउन खोजेको हुँ । ५१ वर्षदेखिको सम्बन्ध, मेरो काम र क्षमताका मूल्याङकन हुन्छ र मलाई नेतृत्वको जिम्मेवारी दिनुहुन्छ भनेर नै मैले उम्मेदवारी दिएको हुँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.