२०७३ चैत २१ गते १८:१४ विकासन्युज
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल निर्बिरोध निर्वाचित भएका छन् ।
महासंघको चैत २९ गतेका लागि तोकिएको निर्वाचनमा ढकालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
‘एसोसियट तर्फको उपाध्यक्षमा चन्द्र ढकालको मात्रै उम्मेदवारी परेको छ, निर्धारित समयमा एक जनाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको छ’, महासंघको निमित्त महानिर्देशक मिना श्रेष्ठले विकासन्युजसँग भनिन् ।
सौरभ ज्योतिले एसेसियट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए तर अन्तिम समयमा उनले उम्मेदवारी फिर्ता लिँदै ढकाललाई नै समर्थन गरेका हुन् ।
को हुन ढकाल ?
बाग्लुङको अमलाचौर गाबिसमा बिस २०२२ साल असार ९ गते (२३ जुन १९६५ ) जन्मिएका चन्द्र प्रसाद ढकाल नेपालका उदियमान उद्यमी हुन् । उनको नेतृत्वमा खडा भएको आइएमई ग्रुपले बैंकिङ, रेमिटेन्स, उर्जा, पुर्वाधार, अटोमोबाइल, पर्यटन, इन्फोटेनमेन्ट तथा व्यापारका क्षेत्रमा तिब्र गतिमा प्रगति गरिरहेको छ । ढकालले सन २००१ मा मलेसियाबाट नेपालमा रेमिटेन्स पठाउने गरि इन्टरनेशनल मनि एक्सप्रेस(आइएमई) नामको कम्पनी खडा गरेका थिए ।
यतिबेला आइएमई नेपालकै एक नम्बर रेमिटेन्स कम्पनीका रुपमा स्थापित भएको छ जसले ढकाललाई कमर्सियल्ली इम्र्पोटेन्ट पर्सन(सिआईपी) अवार्ड र रेमिटेन्स तर्फ सबै भन्दा ठुलो करदाताको सम्मान दिलाईरहेको छ । आइएमईले मात्रै नेपाल भित्रिने रेमिटेन्सको २५ प्रतिशत हिस्सा ओगटेको दावी गर्दै आएको छ ।
ढकालले उद्योग व्यवसायकै कारण प्रबल जनसेवा चौथो, सिआइपी अवार्ड २०१४, रेमिटेन्समा ठुलो करदाता सम्मान, कान्तिपुर टेलिभिजनको टप बिजनेश पर्सनालिटी अफ द इअर २०१४, गोर्खा दक्षिण बाहु चौथो लगायतका प्रतिष्ठित सम्मान तथा मानपदवी प्राप्त गरिसकेका छन् ।
ढकाल हाल इण्डोनेसियाका लागि अवैतनिक महाबाणिज्य दूतका रुपमा कार्यरत छन् । त्यस बाहेक नेपाल मलेसिया चेम्बर अफ कमर्शको अध्यक्षका रुपमा पनि भूमिका निर्वाह गरिसकेका छन् । त्यस बाहेक इन्टरनेशनल चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री(आइसीसीको उपाध्यक्ष, नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीको उपाध्यक्ष, पश्चिमाञ्चल विकास फोरमको अध्यक्ष पनि छन् ।
ढकालले ग्लोबल आइएमई बैंकको अध्यक्ष, आइएमई ग्रुपको अध्यक्ष, आइएमई लिमिटेडको अध्यक्षको जिम्मेवारी पनि एकै साथ निर्वाह गरिरहेका छन् । ढकालकै माउण्ट पुमोरी एयर कार्गाे प्राली नामको कम्पनी र सिएम ट्रेडिङ इन्टरप्राइजेज प्राली पनि सञ्चालनमा छ ।
आइएमई अटोमोटिभ्स प्राली र एलटी इन्टरप्राइजेजले अटोमोबाइलको कारोबार गर्दै आएको छ । हिमालयन पावर पार्टनर लिमिटेड र माउन्टेन इनर्जी प्राली उर्जाका क्षेत्रमा काम गरिरहेको छ । हिमालयन पार्टनरले २७ मेगावाट क्षमताको दोर्दी जलविद्युत आयोजना र ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत आयोजनामा लगानी गरेको छ । चन्द्रागिरी हिल्स लिमिटेडबाट काठमाडौं नजिकै केबल कार निर्माण गरि सञ्चालन गरिरहेको छ ।
ढकालले अष्ट्रेलिया, बहराइन, बंगलादेश, बेल्जियम, भुटान, चीन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, भारत, इण्डोनेसिया, इटाली, जापान, लक्जमबर्ग, मलेसिया, नेदरल्याण्ड, नर्वे, पाकिस्तान, कतार, रसिया, बेलायत, अमेरिका, कोरिया, थाइल्याण्ड, स्वीजरल्याण्ड, स्पेन, युएई लगायतका देशहरुको भ्रमण गरिसकेका छन् ।
उनले नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यसँगै अन्तराष्ट्रिय तथा एनआरएन लगानी प्रवद्र्धन कमिटीको अध्यक्षको जिम्मेवारी पुरा गरेसँगै एसोसियट तर्फको उपाध्यक्षमा सर्वसम्मतिले चयन भएका हुन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.