२०७३ चैत १३ गते १६:४२ विकासन्युज
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा फ्लोरिकल्चर एसोसिएसन नेपालले (फ्यान) नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोगमा बुधबारदेखि तेस्रो अन्तराष्ट्रिय (फ्लोरा एक्स्पो २०७३) पुष्प प्रदर्शनी गर्ने भएको छ ।
मेलामा ६५ हजार मानिसले अवलोकन गर्ने फ्यानको अनुमान छ । त्यस्तै मेलाअवधिभर ७५ लाख रुपैयाँ बराबरको कारोबार लक्ष्य रहेको फ्यानले जानकारी दिएको छ।
देशका सम्पूर्ण पूष्प व्यवसायी तथा यससम्बन्धी चासोराख्नेहरुकालागि पुष्प मेला आयोजना गर्न लागिएको फ्यानका अध्यक्ष कुमार कुसजुले बताए । पुष्प व्यवसायमा उपयोग गरिएका विभिन्न नयाँ प्रविधि मेलामा राखिने उनले जानकारी दिए ।
प्रविधी बिस्तारका लागि भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरिया लगायत मुलुकबाट पुष्प व्यवसायीहरु मेलामा सहभागी हुने मेला संयोजक तथा बरिष्ठ उपाध्यक्ष दिलिप बादेले जानकारी दिए ।
बुधबारदेखि चारदिनसम्म चल्ने प्रदर्शनीमा २८ वटा अन्तराष्ट्रिय स्टलसहितका ९९ वटा स्टल रहने पुष्प व्यवसायीले बताए । यसैगरी अफिसियल स्टलका लागि सातवटा, प्रतियोगितात्मक प्रदर्शनीका लागि तीनवटा, ल्याण्डस्केपिङ्गका लागि चारवटा र व्यवसायीक स्टलका लागि ५७ वटा स्टल रहने फ्यानले जनाएको छ।
मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहनेछन् ।
मेलामा सहभागि भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु विच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने समेत कार्यक्रम रहेको फ्यानले जनाएको छ ।
प्रतियोगिता हुने १० विधाहरुमा उत्कृष्ट मौसमी फूल,उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट फूल्ने बिरुवा, उत्कृष्ट ल्याण्डस्केप, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट स्टल, उत्कृष्ट कट फ्लावर (रोज), उत्कृष्ट कट फ्लावर कार्नेशन, उत्कृष्ट कट फ्लावर (जरबेरा), उत्कृष्ट कट फ्लावर (ग्लाडुओलस) रहेका छन्।
फ्यानका अनुसार नेपालमा वि.सं. २०११ मा नेपाल प्राइभेट नर्सरीको स्थापना संगै सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय आर्थिक वर्ष २०७२÷७३ सम्म आई पुग्दा हाल ३९ जिल्लामा लगभग ६७८ पुष्प व्यवसाय बिस्तार भईसकेको छ ।
करिब १४८ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४१,००० भन्दा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको यस व्यवसायले आ.व. २०७२/७३ मा सिजनल फूल बिरुवा तर्फ २५.०३ करोड रुपैयाँ, आलंकारिक वोट बिरुवा तर्फ ४६.०६ करोड रुपैयाँ, कट फ्लावर्स तर्फ २४.६९ करोड रुपैयाँ, ल्याण्डस्केप तथा गार्डेनिङ्ग तर्फ रु १९.६८ करोड, खुल्ला फूल तर्फ ८.०९ करोड रुपैयाँ, अन्य (कार्पेट ग्रास, बल्ब, राईजम टयुवर टिष्यूकल्चर आदि) तर्फ ९.६२ करोड रुपैयाँ, र निर्यात तर्फ ३.२५ रुपैयाँ करोड गरि जम्मा १ अर्व ५१.३९ करोड भन्दा बढिको कारोबार भएको छ ।
आ.व. २०७२/७३ मा ६.०४ करोड रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएको फ्यानले जानकारी दिएको ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.