प्रतिमेगावाट ५० लाख अनु्दान दिन मन्त्रालय सहमत, दुई सय मेगावाटले तत्काल अनुदान पाउने

  २०७३ फागुन १९ गते १३:१५     विकासन्युज

काठमाडौं । जलविद्युत् आयोजनालाई मूल्य अभिबृद्धि कर (भ्याट) फिर्ता दिने सहमति भएको छ । आर्थिक वर्ष २०७९/८० सम्ममा निर्माण सम्पन्न हुने जलविद्युत् आयोजनालाई प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिन अर्थ मन्त्रालय सहमत भएको हो । अर्थ मन्त्रालयले जलविद्युत् आयोजनालाई मात्र अनुदान दिने व्यवस्था गर्ने सहमति केही दिन अघि गरेको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए । ‘अब अर्थ मन्त्रालयको सहमती आएपछि हामी उक्त अनुदान प्रस्तावलाई मन्त्री परिषद्मा लैजान्छौ,’ उनले भने ‘ उताबाट स्वीकृत भएर आएपछि अनुदान वितरण कार्य शुरु हुन्छ ।’

सरकारले दिएको समय सीमाभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने जुनसुकै आयोजनाले पनि प्रतिमेगावाट ५० लाख रपैयाँ अनुदान पाउँछन् । असारसम्ममा करिब दुई सय मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने अनुमान ऊर्जा मन्त्रालयले गरेको छ । यसका लागि १० अर्ब खर्च हुने देखिएको छ ।

आर्थिक २०७१/७२ को बजेटमार्फत आर्थिक वर्ष २०७९/८० सम्म विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने आयोजनालाई प्रतिमेगावाट ५० लाख रुपैयाँका दरले एक मुष्ठ अनुदान दिने व्यवस्था सरकारले गरेको थियो । सरकारले तत्कालको विद्युत् संकट निवारण गर्न सहयोग पुर्याउने अर्थात आव २०७४/७५ भित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने उत्पादकलाई अनुदानमा १० प्रतिशत थप गरिने समेत व्यवस्था छ ।

बजेटमै घोषणा गरिएको कार्यक्रम अर्थ मन्त्रालयले कार्यान्वयन नगर्दा निर्माण सम्पन्न भएका आयोजनाले समेत अनुदान पाएका छैनन् । राष्ट्रिय ऊर्जा संकट निवारण कार्ययोजनामा भएको व्यवस्था अनुसार आव २०८२/८३ सम्ममा निर्माण हुने आयोजनालाई अनुदान प्रस्ताव गरिएको थियो । तर, यसका लागि भने अर्थ मन्त्रालयले स्वीकृत दिएको छैन ।

तत्काल सुविधा पाउने आयोजनाहरूमा जिरी खोला साना आयोजनाले एक करोड २१ लाख अनुदान पाउने भएको छ । उक्त आयोजनाले २.२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । माईखोाल २२ मेगावाट उत्पादन गरेर ११ करोड, बेल्खु ५१८ किलोवाटले २८ लाख ४९ हजार, माथिल्लो पुवा एक ३ मेगावाट, माथिल्लो खुम्दी ५ मेगावाट, नौगाढ खोलाको ८.५ छ्याङ्दी २ मेगावाट, सुम्पाबुखारी ९९८ किलोवाट विद्युत् गर्ने हुने बताइएको छ । माई क्यास्केट ७ मेगावाट, माथिल्लो माई खोला ९.९८ मेगावाट , दरम खोला ए २.५ , झ्याक्दी खोला २ मेगावाट, टुंगुन ठोस्ने ४.३६ मेगावाट, माथिल्लो मस्र्याङ्दी ए ६ मेगावाट, खानी खोला २ मेगावाट, मिया खोला ९९६ किलोवाट, माथिल्लो मादी २५ मेगावाट आयोजनाले अनुदान पाउने गरी विद्युत् उत्पादन गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.