कृषकलाई ५० प्रतिशतसम्म अनुदान दिने, आधुनिक कृषि औजार प्रयोग गर्न जोड

  २०७३ फागुन ६ गते १६:५७     विकासन्युज

काठमाडौं । सरकारले आधुनिक कृषि औजार प्रयोग गरी कृषि पेसालाई बढवा दिने कृषकलाई ५० प्रतिशतसम्म अनुदान दिने तयारी गरेको छ । शुक्रबार नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ, फ्युचर एक्स प्रालि र मिडिया स्पेस सोलुसन प्रालिले संयुक्त रुपमा गरेको प्रथम अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले कृषिलाई आधुनिकीकरण गर्न नसक्दासम्म देश कृषि पेसामा आत्मनिर्भर बन्न नसक्ने बताए । उनले युवा पुस्तालाई आधुनिक रुपमा कृषि पेसामा लाग्न आग्रह गरेका छन्।

कृषि विकास मन्त्रालयका निमित्त सचिव ईश्वरी रिजालले उद्यमशील व्यक्ति सक्रिय भई स्वदेशमा नै यस्ता यन्त्र उत्पादनतर्फ लाग्नुपर्नेमा जोड दिए । नेपाल कृषि मेसिनरी व्यावसायिक सङ्घका अध्यक्ष स्वयम्भू कृष्ण श्रेष्ठले कृषिमा उत्पादन र उत्पादकत्व बढाउनका लागि कृषिलाई यान्त्रीकरण गर्नुपर्ने बताए ।

कृषि इन्जनियरिङ निर्देशनालयका कार्यक्रम प्रमुख मधुसूदन बस्नेत, नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट र मिडिया एक्स सोलुसन प्रालिका प्रबन्ध निर्देशक सृजल भट्टराईले अबका दिनमा साना र सीमान्तकृत वर्गलाई सरकारले समेटेर अघि बढ्नुपर्नेमा जोड दिए । तीन दिनसम्म चल्ने सो प्रदर्शनीमा भारत, मलेसिया, चीनलगायत १६ वटा देशका विभिन्न किसिमका कृषि यन्त्र, पोल्ट्रीका सामग्री र थोपा सिँचाइबारे जानकारी गराउने २०० भन्दा बढी कक्ष राखिएको छ । दुई लाखभन्दा बढीले प्रदर्शनीको अवलोकन गर्ने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.