२०८० माघ १७ गते १३:४२ विकासन्युज
काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकालाई ‘मिथिला हेरिटेज स्ट्रीट’ निर्माणको कार्यलाई निरन्तरता दिन सकस परेको छ । उपमहानगरलाई सांस्कृतिक सहरको रूपमा विकास गर्ने उद्देश्य राखी अगाडि बढाएको उक्त योजनाको परिपालना नै नभएपछि काम अगाडि बढाउन समस्या भएको हो ।
जनकपुरको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्दा भत्किएका घरको पुन: निर्माण गर्दा उपमहानगरले तोकेको डिजाइनअनुसार बनाउनको लागि ‘मिथिला हेरिटेज स्ट्रीट’ अवधारण लिएको थियो । अहिले उक्त योजना ओझेलमा परेको जनकपुरधाम उपमहानगरपालिकाका प्रवक्ता परमेश्वर कुमार झाले जानकारी दिए ।
‘वि.सं. २०७४/०७५ मा उपमहानगरभित्रको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्दा धेरै घरहरू भत्किएका थिए, भत्किएका घरको अगाडिका भाग एक प्रकारका हुन् र सांस्कृतिक महत्व झल्कियोस् भनेर यो अवधारणा ल्याइएको थियो,’ उनले भने । तर, पछिल्लो समय महानगरले लिएको लक्ष्य अनुसारको घर बन्न छाडेको बताइएको छ ।
मिथिला हेरिटेज स्ट्रीटको डिजाइन अनुरूप घर बनाउँदा उपमहानगरले घरको नक्सा दस्तुरमा छुट र केशरिया रङ निःशुल्क उपलब्ध गराएको थियो । उपमहानगरका अनुसार उक्त किसिमको भवन निर्माण गर्ने व्यक्तिले नक्सा परिवर्तन गर्दा नक्सा दस्तुरमा पूर्ण छुट दिने साथै सोही डिजाइनमा नयाँ नक्सा पास गर्दा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाएको थियो ।
उपमहानगर टेन्डर नै आव्हान गरेर रङ खरिद गरी वितरण गरेको पनि झाले बताए । उनका अनुसार हाल पनि यस्ता प्रकारको घर मुख्य सडकको छेउमा बनाउन चाहने यो सुविधा पाउने छन् ।
‘यो योजना अन्तर्गत जति पनि मुख्य बजार क्षेत्रमा घर छन्, ति बसै केशरिया रङलगाएर बनाउने योजना थियो, त्यसको मोडल उपमहानगरले दिने र घरकोभित्र चाहिँ आफ्नो हिसाबले बनाउँदा हुने र घरको बाहिरको मोडल र रङ एकै किसिमको बनाउने योजना हो,’ उनले भने ।
सडक विस्तार हुँदा भत्किएका घर धेरै हदसम्म उपमहानगरको मापदण्ड अनुसार बनेको पनि झाले बताए । उनकाअनुसार भानु चोकदेखि जनक चोकसम्मका अधिकांश घरहरू यस्तो देख्न पाइने छ । झाले केशरिया सिटीको रूपमा जनकपुरधामलाई विकास गर्ने योजना पनि राखेका थिए ।
‘यो योजना कार्यान्वयन गर्दा पहिला मान्छेले विरोध पनि जनाए पछि बुझ्दै गएपछि यसप्रति मान्छे सकारात्मक देखिए, उपमहानगरले बजेटको नै व्यवस्थापन गरी रङ वितरण गर्यो, तर अहिले यस्तो डिजाइनको घर बनाउनेहरू संख्यामा कमी आएको छ,’ उनले भने ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.