२०८० वैशाख १४ गते ७:०८ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेयर र घरजग्गामा पहिला सहजरूपमा ऋण दिएका कारण पनि अहिले समस्या आएको बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सेयर र घरजग्गामा कर्जा प्रवाह गर्दा समस्या आएको बताएका हुन् ।
साथै, उनले लगानीको वातावरण बनाउन राज्य र निजी क्षेत्रबीच समन्वय गर्नुपर्ने बताए । उनले दक्ष जनशक्ति नहुँदा समस्या भएको बताउँदै आन्तरिक र बाह्य बजारमा सहजरूपमा काम गर्नसक्ने दक्ष जनशक्ति निर्माण गरिनुपर्नेमा जोड दिए ।
‘नेपालको अर्थतन्त्रमा ‘डिप्रेस’ हुनुपर्ने अवस्था छैन, २५ प्रतिशत रेमिट्यान्स बढेको छ, तरलता बढेको छ, ब्याजदर घट्दो छ, सूचक सकारात्मकतिर जाँदैछ, यहाँभन्दा खराब अवस्था आउँदैन,’ ढकालले भने ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले व्यापार घाटा ९ गुणा बढी हुँदा समस्या भएको बताउँदै निर्यात प्रवद्र्धनलाई ध्यान दिनुपर्ने बताए । अर्थतन्त्र सङ्कुचनको अवस्थामा भएकाले वित्तीय अनुशासन कायम राख्दै अर्थतन्त्र प्रवद्र्धन गर्ने कुरामा ध्यान दिनुपर्ने उनको धारणा थियो ।
अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान समयमा अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्न सबैको साझा दृष्टिकोण लिएर अगाडि बढ्नुपर्ने बताएका छन् । अर्थतन्त्रमा धेरै सुधारका आवश्यकता भएको र राज्य संयन्त्रका सबै तह, राजनीतिक दलले समन्वय गर्नुपर्ने उनको भनाइ छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.