तेक्वान्दोको इतिहास झल्काउने ‘रूट अफ तेक्वान्दो नेपाल’ सार्वजनिक, शिनको योगदान अविस्मरणीय

  २०७९ पुष २ गते १९:१६     विकासन्युज

काठमाडौं । तेक्वान्दोको इतिहास झल्काउने ‘रूट अफ तेक्वान्दो नेपाल’ नामक संस्मरणात्मक तस्बिर पुस्तक सार्वजनिक भएको छ । नेपाल तेक्वान्दोका प्रवर्तक चिफ ग्रान्ड मास्टर जे. के. शिनद्वारा लिखित उक्त पुस्तक शनिबार एक कार्यक्रमबीच सार्वजनिक भएको हो ।

सो पुस्तकले नेपालमा तेक्वान्दोको अधिकारिक सुरुवातमा चिफ ग्रान्ड मास्टर जे. के. शिनको योगदान र यस कार्यमा उनलाई सहयोग गर्ने व्यक्तित्वहरुको भूमिका उर्जागार गरेको छ । पुस्तकमा तत्कालिन तेक्वान्दो सम्बन्धित दुर्लभ तस्बिर समावेश गरिएका छन् ।

नेपालमा प्रतिबन्धित रहेको तेक्वान्दो खेलको प्रशिक्षण तथा यो खेलले कसरी नेपालमा अधिकारिकता प्राप्त गर्न सफल भएको थियो भन्ने रोचक सन्दर्भबाट लेखकले यो पुस्तकको लेखन प्रारम्भ गरेका छन् ।

जे. के. शिनको अभिभावक्तवमा तेक्वान्दोलाई देशव्यापी रुपमा विस्तार तथा नेपालले अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा गरेका उपलब्धीहरुको सचित्र वर्णनले पाठकहरुलाई तत्कालिन समयको स्मृतिमा लग्दछ ।

चिफ ग्रान्ड मास्टर जे. के. शिनका शिष्यहरु क्याप्टेन रत्न गुरुङ, क्याप्टेन चन्द्र गुरुङ, ब्रिगडीयर जनरल डा. सुधासेन मल्ल, लेफ्टीनेन्ट् कर्नेल एकनाथ थापा क्याप्टेन र ईन्द्र गुरुङद्वारा आयोजित कार्यक्रममा नेपालकी प्रथम महिला ब्ल्याक बेल्ट ब्रिगडीयर जनरल डा. सुधा सेन मल्लले कार्यक्रमको सुरुवात गरेकी थिइन् ।

प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवंम नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाललाई अन्तराष्ट्रिय जगतमा परिचित गराउने तेक्वान्दो खेलको सुरुवात र विकासका लागि जे. के. शिनले गरेका योगदान अविस्मरणीय रहने बताए ।

‘ओलम्पिकमा हाम्रो नेपालपछि परेको अवस्थामा हामीले हाम्रो तयारी तीव्र बनाउनुपर्नेछ, तेक्वान्दोजस्ता विश्व परिवेशमा देशलाई परिचित गराउने खेलहरुको विकासले अझ धेरै पर्यटन नेपालमा भित्रिन सक्दछ,’ उनले भने ।

विशेष अतिथि पूर्व शिक्षा तथा संस्कृति मन्त्री केशर बहादुर बिष्टले नेपालमा तेक्वान्दोको स्थापनाकालका रोचक प्रसँग बताउँदै उनले भने, ‘विगतमा यस खेल प्रहरी र सेनालाई तालिमका क्रममा खेलाइन्थ्यो । तर पछि यस खेलमार्फत अनुशासन पनि हुने हुनाले आम जनतालाई खेलाउन लागिएको हो ।’

उनले जे.के शिन नै नेपालको आधिकारिक तेकवान्दो स्थापक रहेको बताए । त्यस्तै, नेपाल तेक्वान्दो एशोसिएसनका उपाध्यक्ष एवंम पूर्व मन्त्री किसान श्रेष्ठले यस खेलको विकासको लागि आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

‘बिमोचित पुस्तकमा रहेका ऐतिहासिक तस्वीरहरुले जे के शिन फादर अफ तेकवान्दो रहेको तथ्यलाई सबैको सामु उर्जागर गरेको छ । नेपाल खेलकुद परिषदका तत्कालिन कोषाध्यक्ष विष्णु गोपाल श्रेष्ठले जे. के शिनले नै तेक्वान्दो खेलको सुरुवात मात्र नभइ, उक्त खेल विधामा छोटो समयमानै नेपाललाई अन्तर्राष्ट्रियस्तरका पदक दिलाउन सफल भएको दावी गरे ।

यस्तै, कार्यक्रममा बोल्दै गुरु चिफ ग्रान्ड मास्टर जे.के शिनले नेपालमा मार्सल आट्रसले जीवनलाई सँधै ताजा र जीवन्त राख्ने सन्देश दिए । उनले तत्कालिन समयमा जुनस्तरमा तेक्वान्दो खेलको गुणस्तर विकास भएको थियो त्यसमा आएको ह्रासप्रति चिन्ता गरे । र, आफु जहिले पनि नेपालमा तेक्वान्दो खेलको विकासको लागि योगदान गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, प्रशिक्षक, खेलाडी लगायत व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अन्त्यमा आयोजकको तर्फबाट चन्द्र गुरुङले कार्यक्रमको सम्पूर्ण संयोजनका लागि डा. रबि मल्ललाई बिशेष दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.