यी बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको तीव्र दबाब, कुनको कोसँग हुँदैछ छलफल ?

  २०७९ असोज ११ गते १३:२८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मर्जरका लागि दबाब दिएको विषय नौलो होइन । यसअघि पनि विभिन्न समयमा बैंकका प्रमुख कार्यकारी अधिकृत वा अन्य पदाधिकारीहरुलाई राष्ट्र बैंकमै बोलाएर मर्जरका लागि दबाब दिइरहेकाे थियाे । तर, यसपटक भने केही बैंकरहरुलाई निरन्तर राष्ट्र बैंकमा बोलाएर मर्जरका लागि तीव्र दबाब दिइरहेको बुझिएको छ ।

नेपाल राष्ट्र बैंकले दबाब दिएका दुई बैंक एनसीसी र कुमारी बैंकले मर्जरमा जाने सम्झौता गरिसकेका छन् । कुमारी र एनसीसी बैंकले सोमबार १ः१ स्वाप रेसियो हुने गरी सम्झौता गरिसकेका छन् । राष्ट्र बैंकले सँगै मर्जरका लागि ताकेता गरिरहेका कुमारी र एनसीसीले बैंक मर्जरका लागि सम्झौता गरेसँगै अन्य बैंकहरु पनि दबाबमा परेका छन् ।

नेपाल राष्ट्र बैंकले सनराइज, माछापुच्छ्रे, सिटिजन्स, लक्ष्मी, सिद्धार्थ र सानिमा बैंकलाई मर्जरका लागि दबाब दिइरहेको बुझिएको हो । यी बैंकहरुलाई आगामी पुस मसान्तसम्म मर्जरको सम्झौता गर्न राष्ट्र बैंकले ताकेता गरिरहेको स्रोतको भनाइ छ ।

सिद्धार्थ, सिटिजन्स बैंक र सानिमा बैंकले भने खासै मर्जरमा चासो नदेखाएको बुझिएको छ । अन्य बैंकहरु मर्जरका लागि पाटर्नर खोजिरहेका छन् । एकअर्काबीच मर्जरका लागि निरन्तर छलफल भइरहेको बुझिएको छ । राष्ट्र बैंकले पुस मसान्तभित्र मर्जर सम्झौता गरिसक्न निर्देशन दिएकोले पनि बैंकहरुलाई दबाब बढेको स्रोतको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले गतवर्ष मौद्रिक नीति सार्वजनिक गर्दै बिग मर्जरमा जाने बैंकहरूलाई दिने छुट सुविधा सार्वजनिक गरेको थियो । राष्ट्र बैंकले यही आर्थिक वर्षभित्र वाणिज्य बैंकहरू गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भइ एकिकृत कारोबार सञ्चालन गरेमा विद्यमान व्यवस्थाको अतिरिक्त थप सुविधा तथा छुट २०७९ असार मसान्तसम्म प्रदान गरिने उल्लेख गरेको थियो । अहिले यसलाई पुस मसान्तसम्म पुर्याइएको छ ।

वाणिज्य बैंकहरु जतिसक्दो कम होस् भन्ने चाहना राष्ट्र बैंकको छ । राष्ट्र बैंकको इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीतिमार्फत घटाउने र बलिया बैंक बनाउनुपर्ने निष्कर्ष निकालेको थियो । राष्ट्र बैंककाे अध्ययनअनुसार नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुन्छ ।

तत्कालीन गभर्नर चिरञ्जिवी नेपालले बैंकहरुबीच मर्जरको नीति अगाडि सारेका थिए । उनले वाणिज्य बैंकहरुको चुक्तापुँजी ८ अर्ब हुनु पर्ने नीति बनाएपछि वाणिज्य बैंक मर्जरको होडवाजी चलेको हो । अहिलेका गभर्नर महाप्रसाद अधिकारीले पनि मर्जरको विषयलाई प्राथमिकता दिइरहेका छन् ।

राष्ट्र बैंकले सरकारी लगानीका ३ वटा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकसँगै विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंकलाई भने मर्जरका लागि दबाब दिएको छैन ।

अहिले विशेष गरेर सनराइज बैंकले विभिन्न बैंकसँग मर्जरका लागि छलफल गरिरहेको छ । सजराइजले लक्ष्मी र एनएमबि बैंकसँग मर्जरका लागि छलफल गरिरहेको बुझिएको छ । यसअघि सनराइजले अन्य बैंकसँग पनि छलफल गरेको थियो । यस बीचमा सनराइज, माछापुच्छ्रे, सिटिजन्स इन्टरनेशनल, सिद्धार्थ लगायत बैंकहरुबीच मर्जरका लागि गहन छलफल भइरहेको बुझिएको छ ।

२७ वटा वाणिज्य बैंक नबिल र नेपाल बंगलादेशको मर्जर तथा प्राप्ति भएसँगै २६ वटामा झरेका छन् । त्यसपछि नेपाल इन्भेष्टमेन्ट–मेगा बैंक, ग्लोबल आईएमई–बैंक अफ काठमाण्डू, हिमालयन–सिभिल बैंक, प्रभु–सेञ्चुरी र एनसीसी–कुमारी बैंकबीच मर्जरका लागि सम्झौता भइसकेको छ । यी बैंकहरु पुस मसान्तभित्रै एकिकृत कारोबार गर्ने योजनामा छन् ।

राष्ट्र बैंक भने बैंकलाई मर्जरका लागि दबाब दिएको रुपमा लिन नहुने बताउँछ । ‘अधिकतम् १५ वटा बैंकहरु आवश्यक रहेको हाम्रो अध्ययनले देखाइसकेको छ, संख्या कम भएपछि एक किसिमको वित्तीय स्थायित्व हुन्छ, हामीले यसलाई दबाबका रुपमा लिनु हुँदैन, हामी बाटो देखाउने हो, निर्णय बैंकहरु स्वयंम्ले हो,’ राष्ट्र बैंकका एक अधिकारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.