एकैदिन पौने २ अर्ब रुपैयाँले घट्यो सेयर कारोबार

  २०७८ माघ ३ गते १५:२३     विकासन्युज

काठमाडौं । सेयर कारोबार एकैदिन पौने २ अर्ब रुपैयाँले घटेको छ । आइतबार ९ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार ७ अर्ब ९० रुपैयाँमा खुम्चिएको छ । जुन अघिल्लो दिनको तुलनामा १ अर्ब ७७ करोड रुपैयाँले घटी हो ।

बजारमा कारोबार रकमसँगै कारोबार संख्या पनि घटेको छ । आइतबार २२९ कम्पनीको १ करोड ८२ लाख कित्ता सेयर किनबेच भएको बजारमा सोमबार २२४ कम्पनीको १ करोड ४४ लाख कित्ता सेयर खरिदबिक्री भएका छन् ।

बजारमा उच्च कारोबार गर्नेको अग्रस्थानमा अधिकांश हाइड्रो कम्पनीहरु रहेका छन् । जसमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ४४ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा अपि पावर कम्पनी र तेश्रोमा अपर तामाकोशी हाइड्रोपावर रहेका छन् । यी दुई कम्पनीको क्रमशः ४१ करोड र २४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सोमबारको बजारमा तीव्र उतारचढाव देखिएको छ । तीव्र उतारचढाव देखिए पनि परिसूचक दोहोरो अंकले बढ्न सफल भएको छ । दिनभरको कारोबारमा सेयर मूल्य मापक नेप्से परिसूचक २०.६४ अंकले बढेर २९४७.३९ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७१ प्रतिशतले बढी हो । दिनभरको कारोबारमा परिसूचक घटेर २९०७ बिन्दुदेखि बढेर २९५६.१० बिन्दुसम्म पुगेको थियो ।

त्यस्तै, क वर्गको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.७० बिन्दुले बढेर ५४६.३३ बिन्दुमा पुगेको छ ।

बजारमा मध्य भोटेकाशी जलविद्युत कम्पनीको सेयर मूल्यमा निरन्तर सर्किट लागिरहेको छ । सोमबारको बजारमा पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५८.८० रुपैयाँमा कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ४१.७० रुपैयाँले बढी हो । त्यस्तै, बजारमा अन्य कुनै पनि कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छैन ।

सोमबार कारोबारमा आएका समूहमध्ये केही समूह हरिया देखिएका छन् भने केही राता देखिएका छन् । विकास बैंक, फाइनान्स, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स र ट्रेडिङ् समूह घटेर राता देखिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.