२०७८ पुष १९ गते १५:२७ विकासन्युज
काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । दिनभर उतारचढाव देखिएको सेयर कारोबारमा नेप्से परिसूचक ३२.०३ अंकले उकालो लागेको छ । जुन आइतबारको तुलनामा १.२४ प्रतिशतले बढेर २६१६.९४ बिन्दुमा पुगेको हो ।
उक्त बिन्दु पछिल्लो एक महिनायताकै उच्च बिन्दु हो । गत मंसिर १५ गतेको परिसूचक २६३३.६६ बिन्दुमा थियो । त्यसयता परिसूचक उक्त बिन्दुसम्म पुगेको थिएन ।
बजारमा परिसूचकमा मात्रै नभई सेयर कारोबार रकममा पनि सुधार देखिएको छ । सोमबारको सेयर बजारमा ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४१ करोड रुपैयाँले बढी हो । आइतबारको बजारमा ४ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सोमबार हिमालयन डिष्टिलरीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन २८ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ४२४९ रुपैयाँ पुगेको छ ।
बजारमा मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य १६ रुपैयाँले बढेर प्रतिकित्ता १७७.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.४५ प्रतिशतले बढेर प्रतिकित्ता १३३० रुपैयाँ पुगेको छ ।
सबैभन्दा बढी रुरु जलविद्युत कम्पनीको सेयर मूल्य २.५९ प्रतिशतले घटेको छ । जसको सेयर मूल्य अघिल्लो दिनको तुलनामा २४ रुपैयाँले घटेर प्रतिकित्ता ९०४ रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, बजारमा उत्पादनमूलक समूहबाहेक कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । उत्पादनमूलक समूह भने सामान्य ०.०३ प्रतिशतले घटेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.