२०७८ कार्तिक २४ गते १३:३० सन्तोष रोकाया
काठमाडौं । २७ वटा वाणिज्य बैंकहरुसँग ४९ अर्ब ३१ कराेड ७० लाख रुपैयाँ खराब कर्जा देखिएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार २७ वटा वाणिज्य बैंकहरुसँग सो रकमको खराब कर्जा देखिएको हो ।
चालु आर्थिक वर्षकाे असाेज मसान्तसम्मकाे तथ्यांक अनुसार सबैभन्दा बढी खराब कर्जा सरकारी लगानी रहेको बैंकको देखिएको छ । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको खराब कर्जा बढी देखिएको छ ।
तथ्यांकका अनुसार अहिले सबैभन्दा बढी खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकसँग देखिएको छ । राष्ट्रिय वाणिज्य बैंकसँग कुल ६ अर्ब २१ कराेड ९१ लाख ८३ हजार रुपैयाँ खराब कर्जा रहेको छ ।
कुल २ खर्ब ६ अर्ब ६१ करोड ७३ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी रहेको सो बैंकसँग ३.०१ प्रतिशत खराब कर्जा रहेको छ । यस्तै, कृषि विकास बैंकको पनि २.०८ प्रतिशत खराब कर्जा देखिएको छ । कुल १ खर्ब ७६ अर्ब १५ करोड १ लाख ४४ हजार रुपैयाँ रहेको बैंकको ३ अर्ब ४७ कराेड ६७ लाख खराब कर्जा देखिएको छ ।
सरकारी लगानी नै रहेको नेपाल बैंकको खराब कर्जा पनि अन्य बैंकहरुको तुलनामा बढी नै देखिएको छ । २ प्रतिशत खराब कर्जा रहेको नेपाल बैंकको कुल १ खर्ब ५४ अर्ब ८७ करोड ४५ लाख ४९ हजार रुपैयाँ कर्जा लगानी रहेको बैंकको खराब कर्जा ३ अर्ब ९ कराेड ७४ लाख रुपैयाँ छ ।
यस्तै, नेपाल इन्भेष्मेन्ट बैंकको खराब कर्जा पनि अन्यको तुलनामा बढी नै छ । यस बैंकको कुल कर्जा १ खर्ब ६८ अर्ब ८३ करोड ५८ लाख ८७ हजारमध्ये ३ अर्ब ८३ कराेड २५ लाख रुपैयाँ खराब कर्जा छ ।
२७ वटै वाणिज्य बैंकहरुमा सबैभन्दा कम खराब कर्जा भने एभरेष्ट बैंकको देखिएको छ । कुल १ खर्ब ४४ अर्ब ३७ करोड ५६ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी रहेको यस बैंकको खराब कर्जा १८ कराेड ७६ लाख रुपैयाँ छ । बैंकको ०.१३ प्रतिशत मात्रै खराब कर्जा छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म कुल ३९ खर्ब ७९ अर्ब ४० करोड ४९ लाख ५२ हजार रुपैयाँ कर्जा लगानी रहेका बैंकको औसत खराब कर्जा १.२१ प्रतिशत छ ।
८ बैंकसँग लगानी गर्ने पैसा छैन
८ वटा वाणिज्य बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले कर्जा–निक्षेप (सीडी) अनुपातको व्यवस्था गरेपछि ८ वटा वाणिज्य बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका हुन् ।
नेपाल राष्ट्र बैंकले बैंकहरुको सीडी रेसियो ९० प्रतिशत हुनु पर्ने व्यवस्था गरेको छ । तर, ८ वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको सीमा नाघेको छ ।
नेपाल बैंकर्स संघका अनुसार सीडी रेसियो बढी हुने बैंकहरूमा सबैभन्दा अगाडि नेपाल इन्भेष्टमेन्ट बैंक छ । यो बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेर पनि ९५.३७ प्रतिशत पुगेको छ । असोज मसान्तसम्मको तथ्यांक अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको सीडी रेसियो नेपाल राष्ट्र बैंकले तोकेको भन्दा ५.३७ प्रतिशतले बढी देखिएको हो ।
यस्तै, कर्जा लगानी नगर्न सक्ने अवस्थामा नेपाल एसविआई बैंक पनि देखिएको छ । नेपाल एसबिआई बैंकको सीडी रेसियो ९५.०८ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले तोकेको सीमा उल्लंघन गर्ने बैंकहरुमा हिमालयन बैंक (९३.५४) कुमारी बैंक (९२.१३) एनएमबी बैंक (९१.२७),मेगा बैंक (९१.२१), बैंक अफ काठमाण्डू (९०.४८) र प्राइम कमर्सियल बैंक ९९०.२५० रहेका छन् ।
यी बैंकहरु थप कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा पुगेका हुन् । यस्तै, एनसीसी बैंक पनि ८९.९६ प्रतिशतको सीडी रेसियोमा पुगिसकेको छ ।
नेपाल राष्ट्र बैंकले बैंकहरूलाई चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पुँजी कर्जा निक्षेप अनुपात (सीसीडी) रेसियो खारेज गरेर कर्जा निक्षेप (सीडी) रेसियो लागू गरेपछि बैंकहरूको कर्जा लगानी गर्ने क्षमता बढ्ने विश्वास लिइएको थियो ।
अन्तर्राष्ट्रिय रुपमा चल्दै आएको अभ्यास भन्दै राष्ट्र बैंकले सीडी रेसियोकको व्यवस्था ल्याएको थियो । तर, सीडी रेसियोको व्यवस्थाकै कारण बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् भने अहिले बैंकिङ प्रणालीमा तरलताकाे पनि समस्या देखिएको छ ।
राष्ट्र बैंकले ८५ प्रतिशतसम्मको सीमा रहेको सीसीडी रेसियो खारेज गरेर ९० प्रतिशतसम्मको सीमा हुने गरी सीडी रेसियो गणना सुरु गर्न थालेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बजारमा २५ अर्ब ४६ करोड रुपैयाँ अधिक तरलता छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.