निर्जीवन बीमा व्यवसायको न्युनतम शुल्क तोक्नु गलत, छिट्टै पुनरावलोकन गरियोस्ः महासंघ

  २०७८ कार्तिक १० गते १३:३७     विकासन्युज


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्जीवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सिमा तोकी जारी गरिएको निर्देशन पुनरावलोकन गर्न आग्रह गरेको छ । गैरशुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर सम्बन्धमा जारी गरिएको बीमा समितिको निर्देशनमा ध्यानाकर्षण गराउँदै महासंघले यसलाई पुनरावलोकन गर्न आग्रह गरेको हो ।

बीमा समितिले गत असोज ६ गते सबै निर्जीवन बीमा कम्पनीहरूको लागि जारी गरेको गैर शुल्कबीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर सम्बन्धी परिपत्र जारी गरेको थियो । यसबाट निर्जीवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सिमा तोकेकोप्रति महासंघको ध्यानाकर्षण भएको हो ।

‘खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्धारा प्रिमियम वृद्धि सोही दरलाई नै न्युनतम सिमा तोकिदा एकाएक आयोजनाको लागत बढन जानेछ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ/संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रिमियम शुल्क भुक्तानी गरेपनि बीमितले बिमकबाट दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरूको राखिएका छन् । यस बिषयमा सबै सरोकारवालासंग अविलम्व छलफल गर्न पनि महासंघ माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

यसैगरि, नियामक निकाय समितिले जारी गरेको यो निर्देशनबाट बजारमा प्रतिष्पर्धा निरुत्साहित हुने पनि महासंघले जनाएको छ । खुला बजार अर्थव्यवस्थामा प्रतिष्पर्धाद्धारा मूल्य निर्धारण हुने हुँदा न्युनतम शुल्क तोक्न नहुने महासंघको धारणा छ ।

साथै, अर्थतन्त्रको पुनरोत्थानका लागि लगानी प्रवद्र्धन र रोजगारी सिर्जना हुने व्यवसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवाला समक्ष महासंघले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.