उखु किसान भन्छन्: ४० करोड बक्याैता बाँकी, मन्त्रालय भन्छ- भुक्तानी भैसक्यो

  २०७८ साउन १४ गते १६:०९     विकासन्युज

काठमाडौं । उखु किसान र तालुकदार मन्त्रालयको रुपमा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच कुरा बाझिएको छ ।

उखु किसानहरुले विभिन्न ५ वटा चिनी मिलले १५ करोड रुपैयाँबढी रकम भुक्तानी नगरेको भनिरहँदा तालुकदार मन्त्रालयले भने सबै रकम भुक्तानी भइसकेको जनाएको हो ।

गत वर्षको आन्दोलनमा उखु किसानले चिनी मिलले ९० करोड बढी भुक्तानी दिन बाँकी रहेको बताएका थिए भने मन्त्रालयले ६५ करोड रुपैयाँमात्र बाँकी देखिएको जनाएको थियो ।

गत वर्ष मन्त्रालयले तोकेको ६५ करोेड रुपैयाँमध्ये हालसम्म ५ चिनी मिलले १५ करोड बढी रकम भुक्तानी नगरेको भन्दै उखु किसानहरुले आन्दोलनको तयारी गरेका छन् ।

किसान संघर्ष समितिका अनुसार अन्नपूर्ण चिनी मिलले ८ करोड, महालक्ष्मी सुगर मिलले ५० लाख, लुम्विनी चिनी कारखाना र इन्दिरा सुगर मिलले २/२ करोड र रौतहटको श्रीराम सुगर मिलले तीन करोड बढी रकम भुक्तानी नगरेको जनाएको छ ।

लामो समयसम्म चिनी उद्योगले उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै गत वर्षकोे मंसिर २८ गतेदेखि उखु किसानले काठमाडौँमा आन्दोलन सुरु गरेका थिए । आन्दोलनरत उखु किसान र मन्त्रालयबीच गत पुस १३ गते २१ दिनभित्र बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो ।

सबै बक्यौता रकम नलिई सरकारसँग सम्झौता भएको भोलीपल्ट काठमाडौंमा आन्दोलन गर्न आएका सलार्हीका उखु किसान नारायण राय यादवको मृत्यु भएको थियो ।

मान्छे हेरेर भुक्तानी भयो: किसान

गत वर्षकोे आन्दोलन पछि चिनी उद्योेगले मान्छे हेरेर बक्यौता रकम भुक्तानी गरेको किसानहरुले आरोप लगाएका छन् ।

गत वर्षको आन्दोलनमा सहभागी हुन काठमाडौं आएका अधिकाशं किसानले सबै रकम पाएपछि जिल्लामा नै बसेका किसानले रकम नपाएको उनीहरुले बताएका हुन । उखु किसान संघर्ष समिति सलार्हीका अध्यक्ष राम स्वार्थ राय धेरै किसानले रकम नपाएको बताए ।

‘गत वर्ष आन्दोलनमा सहभागी हुन आएका धेरै किसानले रकम पाए । गाउँमै बसेकाले पाएका छैनन् । बोल्न सक्ने किसानहरु काठमाडौं आएपनि खुलेर बोल्न नसक्नेहरुलाई भुक्तानी भएन । बोल्न सक्ने र सुकुला मुकुले रकम पाएपनि अन्यले पाएनन’, उनले भने ।

भदौ ५ गतेसम्म अल्टीमेटन

उखु किसान सघंर्ष समितिले बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न भदौ ५ गतेसम्मको समय दिएका छन् । उनीहरुले उद्योग मन्त्रालय र सम्बन्धीत चिनी उद्योगीलाई बाँकी रहेको १५ करोड रुपैयाँ भदौ ५ गतेसम्म भुक्तानी नभए आन्दोलन गर्ने चेतावानी दिएका हुन ।

भुक्तानी भैसक्यो : मन्त्रालय

तालुकदार मन्त्रालयको रुपमा रहेको उद्योग मन्त्रालयले भने सबै चिनी मिलले बक्यौता रकम भुक्तानी गरिसकेको जनाएको छ । मन्त्रालयले गत वर्षको आन्दोलन पश्चात सबै चिनी मिलले बाँकी रहेको बक्यौता रकम भुक्तानी गरिसकेको जानकारी आएको मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीले जानकारी दिए ।

बक्यौता रकम भुक्तानीको माग गर्दै सलार्ही र नवलपुरका किसान काठमाडौं आएको विषयमा आफूलाई जानकारी नभएको उनले जानकारी दिए ।

‘म कहाँ गत वर्षनै सबै रकम भुक्तानी भइसक्यो भनेर जिल्ला प्रशासन कार्यालय र सम्बन्धित चिनी उद्योगले खबर गरेको थियो । भुक्तानी भैसक्यो भनेर हामी ढुक्क भएर बसेका हौँ । किसानले रकम पाएनौँ भनेर आन्दोलन गर्न काठमाडौं आएको विषयमा अहिलेसम्म मलाई जानकारी आएको छैन’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.