यातायात व्यवसायी भन्छन्- प्राइभेट गाडी र हवाईजहाजले यात्रु बोकेको टुलुटुलु हेरेर बस्नु ?

  २०७८ असार ९ गते १३:५०     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । सरकारले शर्तसहित अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ५० प्रतिशतभन्दा बढी नहुने गरी आन्तरिक उडान खुलाको निर्णय गरेको हो ।

यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले मंगलरबारदेखि उपत्यका भित्र ट्याक्सी, पठाओ तथा टुटलको सेवा समेत खुला गरेका छन् । जोरविजोर प्रणाली अनुसार उक्त सेवा समेत खुला गरिएको हो ।

आन्तरिक उडान, ट्याक्सी र टुटल, पठाओको सेवा सुचारु गरेर सरकारले सार्वजनिक यातायात व्यवसायीलाई चिस्काएको व्यवसायीहरुले बताएका छन् ।

रातो नम्बर प्लेटले जोरविजोर अवधारण अनुसार यात्रु बोक्दा यातायात व्यवसायीहरु बसमा घिरौला फलेको हेरेर बस्न बाध्य भएको उनीहरुको भनाई रहेको छ ।

नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला सरकारले व्यवसायीलाई वेवास्ता गरेको बताए ।

‘हाम्रा यातायात (सार्वजनिक यातायातले)  मात्र कोरोना बोक्छ ? ट्याक्सी, टुटल पठाओ र हवाई जहाजलाई कोरोनाले चिन्छ ? टुटल र ट्याक्सीमा बस्नेहरु मात्र कोरोनाबाट सुरक्षित हुन्छन र ?’, उनले प्रश्न गर्दै भने ।

उनले सिमित व्यक्तिको स्वार्थमा सरकारले जोरविरोजर प्रणाली लागू गरेर सिमित सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिएको भन्दै विरोध समेत गरे ।

‘टुटल, पठाओ, ट्याक्सी र जहाजमा जो सुकैले यात्रा गर्न सक्ने अवस्था छैन, दैनिक ज्याला मजदुर गर्ने र न्यून आयस्रोेत भएका जनताले कसरी चर्काे शुल्क तिरेर सेवा लिनु ? घरभित्र बसेका मजदुरहरु काम गर्न बाहिर निस्कदा सास्ती पाएका छन्, उनीहरुको दु:ख सरकारले देखेन, दैनिक ज्याला मजदुरी गर्ने मजदुरहरुले दु:ख पाएको र रातो नम्बर प्लेटका व्यक्तिगत साधनले काेचाकाेच यात्रु ओसारेको हेर्न बाध्य भयौँँ,’ उनले भने ।

गत वर्षको बन्दाबन्दीमा सवारी साधनमा तरकारी फलेका थिए । धेरै खर्च गरेर बिग्रिएका टायरदेखि सबै मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याएका थियौँ, हालको निषेधाज्ञाका कारण गत वर्षको जस्तै अवस्था सिर्जना भयो, अहिले पनि केही सवारीमा घिरौला फलिसकेका छन्, हामी त्यही घिरौला बेचेर बैंकको विस्ता तिर्नु ?’ उनले प्रश्न गर्दै भने ।

दोस्रो चरणको निषेधाज्ञाका कारण लामो समयदेखि काम ठप्प हुँदा समेत यातायात क्षेत्रका श्रमिकहरुले सरकारबाट कुनै राहत नपाएको गुनासो गरेका छन् ।

यातायात क्षेत्रका करिब १५ लाख श्रमिकहरु रोगको महामारीसँगै भोकको चपेटामा परेको भन्दै यातायात सञ्चालनको अनुमति सगैँ खोपको व्यवस्था गर्न माग गरेका छन् । सरकारले तत्काल यातायात सञ्चालन अनुमति सगैँ खोपको व्यवस्था नभए आन्दोलन गर्न बाध्य हुने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.