२०७८ वैशाख ३१ गते १४:०९ विकासन्युज
काठमाडौं । निजी लगानीका विद्यालयहरुको छाता संगठन प्याब्सनले राहत कोष स्थापन गरेकाे छ ।
कोभिड–१९ का कारण विद्यालयहरुका सञ्चालक, प्रिन्सिपल, शिक्षक–कर्मचारी, विद्यार्थी तथा आमजनसमुदायलाई सहयोग तथा राहत पुर्याउने उद्देश्यले प्याब्सन केन्द्रीय कार्यसमितिले राहत कोष स्थापना गरेको हो ।
कोष स्थापनाका लागि आवश्यक कार्यसम्पादनका लागि विभिन उपसमिति गठन गरिएको प्याब्सनका अध्यक्ष टीकाराम पुरीले जानकारी दिए ।उनकै संयोजकत्वमा आर्थिक स्रोत व्यवस्थापन तथा परिचालन उपसमिति गठन गरिएको छ ।
यस्तैगरी, केन्द्रीय कार्यसमितिका सह–अध्यक्ष डीके ढुँगानाको संयोजकत्वमा समन्वय तथा सहायता उपसमिति, केन्द्रीय सल्लाहकार आशिष श्रेष्ठको संयोजकत्वमा आर्थिक स्रोत पहिचान तथा संकलन उपसमिति, केन्द्रीय महासचिव कुमार घिमिरेको संयोजकत्वमा विवरण संकलन, सूचना तथा संचार लगायतका उपसमितिहरु गठन गरी गरिएको छ ।
प्याब्सनले केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय पालिकातहसम्मका सदस्य विद्यालयहरुको सहयोग तथा सक्रियतामा तत्काल कार्य प्रारम्भ गर्ने जनाएको छ ।
कोभिड–१९ राहत प्रयास अन्तर्गत सदस्य विद्यालयले स्थानीय तह, प्रदेश र नेपाल सरकारसँग वा अन्य संघ–संस्थाहरुसँग समन्वय गरी अक्सिजन सहितको आइसोलेशन बेडहरुको व्यवस्थापन गर्ने, पीडितलाई विपदको बेलामा आवश्यक यातायातको साधनहरु उपलब्ध गराउने, आमनागरिक लगायत प्रमुख रुपमा प्रभावित विद्यालय सञ्चालक, प्रिन्सिपल, शिक्षक–कर्मचारी, विद्यार्थीहरुको विवरण संकलन गरी आवश्यक सहयोग गर्ने तथा विद्यार्थी, अभिभावक एवं आमनागरिकमा जनचेतनामूलक कार्यहरु साथै मनोवैज्ञानिक परामर्शका कार्यहरु सुरु हुने अध्यक्ष पुरीले जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.