२०७८ वैशाख २६ गते १३:३२ विकासन्युज
काठमाडौं । संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुका पदाधिकारी र सदस्यहरुको पदपूर्तिको सिफारिस गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा आज बसेको बैठकले संवैधानिक आयोगका रिक्त पदपूर्तिको सिफारिस गरेको हो । विपक्षी दलका नेता र सभामुख विना नै संवैधानिक परिषद्को बैठक बसिएको थियो ।
बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीसहित सदस्यहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागीता रहेको थियो ।
बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव माधव रेग्मीलाई नियुक्तीका लागि सिफारिस गरेको स्राेतले बताएकाे छ। झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको हो ।
प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा र कांग्रेस सभापति शेरबहादुर देउवा बैठकमा उपस्थित थिएनन् । संविधानअनुसार परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख रहन्छन् । उपसभामुख खाली रहेकाले हाल परिषद्मा ५ जना मात्रै छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.