जीवन बीमामा एक्चुरीः भेट्टाउन मुस्किल भएको कम्पनीको गुनासो, समिति भन्छः अनुभवी खोज्नुस्

  २०७७ साउन ३० गते १०:४६     नविन पाेखरेल

काठमाडौ । जीवन बीमा कम्पनीहरुले आफ्नो बीमांकीय मूल्यांकनकर्ता (एक्चुरी भ्यालुएटर) भेट्नै मुस्किल भएको बताएका छन् ।

जीवन बीमा कम्पनीहरुले एक्चुरी गराउनै पर्ने कानुनी व्यवस्था छ । तर, नियामक निकाय बीमा समितिले तोकेको मापदण्डका कारण एक्चुरी भेट्टाउन समस्या भएको बीमा कम्पनीहरुले बताएका छन् ।

बीमा समितिले प्रत्येक कम्पनीले बेग्लाबेग्लै एक्चुरी राख्नुपर्ने व्यवस्था गरेको छ । नेपालमा एक्चुरी भ्यालुएटर करिब छैनन् । अन्तराष्ट्रिय बजारमा पनि एक्चुरीको संख्या कम छ । त्यसैकारण एक्चुरी फेला पार्न समस्या भएको कम्पनीहरुको भनाइ छ ।

पछिल्लो समय धेरै कन्सल्यान्टहरुसँग सम्र्पक गर्दा पनि एक्चुरी नभेटीको कम्पनीहरुले जानकारी दिए । यता बीमा समितिले भने एक्चुरी सकेसम्म अनुभव भएको खोज्दा कम्पनी आफैलार्ई राम्रो हुने बताएको छ ।

सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा जीवन बीमक संघका अध्यक्ष रहेका शिवनाथ पाण्डेका अनुसार एक्चुरी भ्यालुएसन गर्न लामो समय लाग्ने तथा यसको प्रकियाले जीवन बीमा कम्पनीहरुलाई समस्या भएको हो ।

‘लामो समयसम्म एक्चुरी नपाउनु तथा पाइसकेपछि पनि काम गर्न लामो समय लाग्ने भएकाले बीमा जीवन बीमा कम्पनीहरुले समस्या भोग्नुपरेको छ, समयमै एक्चुरी नभेट्दा बीमा कम्पनीहरुले समयमा साधारणसभा सम्पन्न गर्न सक्दैनन्’, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पाण्डेले विकासन्यूजसँग भने ।

उनले एक्चुरी नै कम हुने भएकाले यसको अभाव हुने गरेको बताए ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार जीवन बीमा कम्पनीमा एक्चुरीलाई थप सहज बनाउन बीमा समितिले समन्वय गर्नुपर्छ ।

‘जीवन बीमा क्षेत्रमा एक्चुरी सहज रुपमा पाइदैन, विभिन्न कन्सल्ट्यान्टहरुसँग छलफल गर्दापनि एक्चुरीको अभाव नै छ, नियामक निकायको हैसियतले यसमा बीमा समितिले आवश्यक समन्वय गर्न सक्छ, एक्चुरीको अभाव हुनुले बीमा कम्पनीहरुमा एक किसिमको समस्या पैदा गरेको अवस्था छ’, सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत अर्यालले भने ।

प्राईम लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई भने अहिले एक्चुरी छनोटमा केही भिन्नता आएको भएपनि फेला पार्नै नसक्ने समस्या नरहेको बताउँछन् ।

‘पहिले पहिले एउटै एक्चुरीले सबैे कम्पनीको बीमांकीय मूल्याङ्कन गर्न मिल्ने व्यवस्था थियो, अहिले प्रत्येक कम्पनीले आफ्नै एक्चुरी राख्नु पर्ने व्यवस्था छ, तैपनि एक्चुरी खोज्न केही समय लागेपनि भेट्नै नसकिने अवस्था भने होइन,’ प्राईम लाईफका प्रमुख कार्यकारी अधिकृत भट्टराईले भने ।

उनले पहिलेको जस्तो ब्रोकरमा गएर एक्चुरी खोज्दा हुने झन्झटभन्दा आफ्नै कम्पनीको एक्चुरी राख्नुले केही सहजता थपेको बताएका छन् । तर जीवन बीमा कम्पनीहरुलाई एक्चुरीले आफ्नो स्वार्थ अनुसार काम गराउन खोजेको वा कम्पनीहरुले आफ्नो अनुकुल एक्चुरी नभेटेको हो भने त्यसमा नियामक निकाय बीमा समितिले सहजिकरण गर्नु पर्ने उनकोे भनाइ छ ।

युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लालकर्णका अनुसार एक्चुरीको माग विश्वव्यापी रुपमा हुने भएकाले जीवन बीमा कम्पनीहरुलाई एक्चुरी भेटन् केही मुस्किल भएको हो ।

‘एक्चुरीले नेपालमा बीमा क्षेत्रमा काम गर्छन् तर विश्वका कतिपय देशहरुले बैकमा समेत एक्चुरी राख्ने गरेका छन्, एक्चुरीले बैक, बीमा दुवैको भविष्यमा आउने जोखिमको आँकलन गर्न सक्छन्, सोही कारण एक्चुरीलाई कामको कुनै खाँचो हुँदैन,’ युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत लालकर्णले भने ।

उनले बीमा १९ वटा कम्पनीलाई १९ वटा एक्चुरी खोज्नु पर्दा केही समस्या भएको हुनसक्ने बताएका छन् ।

अनुभवी खोज्नुस्ः समिति

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार एक्चुरी सहजै नपाइने भएपनि भेट्नै नसक्ने समस्या भने छैन ।

‘पहिले एउटै एक्चुरीले विभिन्न कम्पनीमा काम गर्न मिल्थ्यो, अहिले कम्पनीहरुले छुट्टा छुट्टै एक्चुरी राख्नु पर्छ, यस्तो व्यवस्थाले बीमा कम्पनीहरुको गोपनियता कायम राख्न मद्दत गर्दै आएको छ, विगतमा गरिएका निर्णयहरु समेत सोच विचार गरेर गरिएका छन् आगामी दिनमा पनि हामीले नयाँ निर्देशिका मार्फत बिमकका समस्या समाधान गर्ने तयारी गरिरहेका छौं,’ बीमा समितिका कार्यकारी निर्देशक पौडेलले भने ।

उनले सहज बनाउने नाममा अनुभव नभएका एक्चुरीसँग समन्वय गर भनेर कुनै पनि कम्पनीलाई भन्दा भोलि त्यसले ठूलो समस्या निम्त्याउने भएकाले केही समय लागेपनि अनुभवी एक्चुरीकै खोजी गर्नु उपयुक्त हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.