२०७७ जेठ २१ गते १५:५७ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बाग्मती प्रदेशले कर तिर्ने म्याद लकडाउन खुलेको कम्तिमा तीन महिना थप्न माग गरेको छ । महासंघले विज्ञप्तिमार्फत जेठ २५ गतेभित्र कर, राजश्व तिर्ने र विवरण बुझाउनु पर्ने सरकारको निर्णय फिर्ता लिन आग्रह गरेको छ ।
सरकारले यो समय राहत दिनुको बदला आफ्ना करदाताबाट जरिवाना र व्याज असुर गरी राजश्वको लक्ष्य पुर्याउने सोच राख्नु उचित नहुने महासंघले जनाएको छ ।
साथै, जेठ १५ गते सर्वोच्च अदालतले बन्दाबन्दीको समयलाई शून्य समय मान्ने गरि फैसला समेत गरेको परिपेक्षमा नेपाल सरकारबाट कर र विवरण बुझाउने सो निर्णय छिट्टै फिर्ता लिन आग्रह गरेको छ । अहिलेको विषम परिस्थिति दृष्टि गरी लकडाउन खोल्ने बित्तिकै सामान्य अवस्थामा आउन पनि अझै धेरै समय लाग्ने महासंघले बताएको छ ।
त्यसैले, उक्त निर्णय फिर्ता नलिएमा बाग्मती प्रदेशका सम्पूर्ण उद्योगी व्यवसायीहरु देशभरका व्यवसायी साथ रहेर चरणवद्ध आन्दोलनमा जाने महासंघको चेतावानी रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.