दुई तिहाई बहुमतको सरकारको विकास खर्च एक चौथाई मात्रै

  २०७७ वैशाख २२ गते १७:३४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा सरकारले राखेको आम्दानी र खर्चको लक्ष्य भेट्न मुस्किल पर्ने देखिएको छ । आर्थिक वर्ष समाप्त हुन करिब ७० दिन बाँकी रहदासम्म सरकारको आम्दानी र खर्च लक्ष्यको आधा मात्रै भएको छ ।

सरकारको आम्दानी र खर्चको हिसाव राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार वैशाख २१ गते (हिजो) सम्ममा सरकारले उठाउने भनेर राखेको लक्ष्यको करिब ५६ प्रतिशत मात्रै उठेको छ । यस्तै, खर्च गर्ने भनिएको रकमको पनि करिब ४७ प्रतिशत मात्रै खर्च भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार २१ वैशाखसम्ममा राजस्व असुली लक्ष्यको ५३.६७ प्रतिशत मात्रै संकलन भएको छ । सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ५ खर्ब ९६ अर्ब ८६ करोड रुपैयाँ मात्रै उठेको छ ।

यस्तो, राजस्वमध्ये पनि कर राजस्व लक्ष्यको ५४ प्रतिशत उठेको छ । सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ९ अर्ब १६ करोड रुपैयाँ कर राजस्व उठाउने लक्ष्य राखेको थियो । वैशाख २१ गतेसम्ममा जम्मा ५ खर्ब ४५ अर्ब २६ करोड रुपैयाँ मात्रै कर राजस्व उठेको छ ।

यस्तै, गैरकर राजस्व पनि लक्ष्यको ५० प्रतिशत मात्रै उठेको छ । सरकारले चालु आर्थिक वर्षमा १ खर्ब २ अर्ब ८७ करोड रुपैयाँ गैरकर राजस्व उठाउने भनेकोमा ५१ अर्ब ५९ करोड रुपैयाँ मात्रै उठेको छ ।

अनुदान रकम १८ प्रतिशत मात्रै

सरकारले बजेट मार्फत लिएको अनुदान प्राप्तीको लक्ष्य भने भेट्न करिब नसक्ने अवस्था देखिएको छ । चालु आर्थिक वर्षमा ५७ अर्ब ९९ करोड रुपैयाँ विदेशी अनुदान प्राप्त गर्ने भनिएकोमा वैशाख २१ गतेसम्ममा १० अर्ब ४९ करोड रुपैयाँ मात्रै प्राप्त भएको छ । यो भनेको लक्ष्यको १८.०९ प्रतिशत मात्रै हो ।

सरकारले ४४ अर्ब १४ करोड रुपैयाँ अन्य स्रोतबाट प्राप्त गरेको छ ।

आधा पनि भएन खर्च

राजस्व असुलीभन्दा पनि खर्चको अवस्था अझ दयनीय छ । वैशाख २१ गतेसम्ममा सरकारले वर्षभरीमा खर्च गर्ने भनेको कूल रकमको ४७.३१ प्रतिशत रकम मात्रै खर्च गरेको छ ।

सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ खर्च गर्ने भनेको थियो । यो रकममध्ये वैशाख २१ गतेसम्ममा ७ खर्ब २५ अर्ब २८ करोड रुपैयाँ मात्रै खर्च गरेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ९ खर्ब ५७ अर्ब १० करोड रुपैयाँ चालु बजेट खर्च गर्ने लक्ष्य राखेको छ । यो रकममध्ये ५ खर्ब ३९ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ । सरकारको चालु बजेट लक्ष्यको ५६.३९ प्रतिशत खर्च भएको छ ।

पुँजीगत बजेट भने लक्ष्यको करिब एक चौथाई मात्रै खर्च भएको छ । करिब दुई तिहाई बहुमत ल्याएर बनेको सरकारले पनि विकास खर्च भने करिब एक चौथाई मात्रै गरेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च गर्ने लक्ष्य राखेको थियो । तर, वैशाख २१ गतेसम्ममा सरकारले १ खर्ब ११ अर्ब ३८ करोड रुपैयाँ मात्रै पुँजीगत बजेट खर्च गरेको छ । सरकारले गरेको यो खर्च कूल विनियोजित बजेटको २७.३ प्रतिशत मात्रै हो ।

वित्तीय व्यवस्थापनतर्फको बजेट पनि ४४.२३ प्रतिशत मात्रै खर्च भएको छ । चालु आर्थिक वर्षको लागि राखिएको १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ वित्तीय व्यवस्थापन तर्फको बजेटमा ७४ अर्ब २३ करोड रुपैयाँ मात्रै खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फको बजेटबाट नै विदेशी तथा आन्तरिक ऋणको सावाँ व्याज भुक्तानी गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.