२०७६ चैत २४ गते १२:३१ विकासन्युज
काठमाडौं । लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ ।
पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २० गाडी, पेट्रोलियम पदार्थ बोकेका ७० ट्याङकर, खाना पकाउने एलपिजी ग्यासका ५३ र मालवाहक ट्रक १७ भित्रिएको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए ।
सोही नाकाबाट रिफाइन तेल बोकेका १४ गाडी र तीन कन्टेनरका साथै महोत्तरी जिल्लाको नाका भएर तीन मालवाहक ट्रक पनि भित्रिएको उनले बताए । यहाँ लकडाउन पूर्णपालना गराउनका लागि पूर्ण रुपले कडाइ गरिएको छ । भारतसँग जोडिएका १०९ वटै नाकामा कडाइ गरी आवतजावत बन्द गरिएको छ ।
दुई हजार सवारी साधन नियन्त्रित
अहिलेसम्म लकडाउन उल्लंघन गर्ने दुई हजार १ सय ३५ सवारी साधनलाई नियन्त्रणमा लिइएको तथा अत्यधिक मूल्य लिई कालोबजारी गर्ने २५ जनालाई कारवाही गरिएको छ । त्यस्तै प्रदेश नं २ का १ सय ४२ क्वारेन्टाइनमा आइतबारसम्म ८ सय ६५ जना क्वारेन्टाइनमा, एक हजार ८० जना होम क्वारेन्टाइनमा र २७ जना आइसोलेशनमा बसेको सचिव घिमिरेले बताए ।
आइतबारसम्म प्रादेशिक अस्पतालमा ३४ जनाको स्वाब परीक्षणका लागि लिएको छ । तीमध्ये ६ जनाको नेगेटिभ आएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको उनले बताइएको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.