प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  २०७६ चैत ६ गते १९:००     विकासन्युज

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र प्रभु बैंकको संयुक्त आयोजनामा जुम्लाको खलंगामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएकोे छ । भौगौलिक रुपमा विकट रहेको सो जिल्लाका महिलालाई वित्तीय साक्षरता अभिवृद्धि गर्ने उदेयश्का साथ आयोजित कार्यक्रम जुम्ला सदरमुकाम खलंगामा सम्पन्न भएको हो ।

कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले वित्तीय पहुँचमा महिला पुगेपनि चेतनाको अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताए । बचतसँगै, सीप तथा रोजगारमुलक क्षेत्रमा लगानी गर्न नगरपालिकाले पनि सघाउने बताउँदै उनले सहकारी तथा वित्तीय क्षेत्रले पनि वित्तीय साक्षरता अभियान सञ्चालन गर्न सुझाव दिए । जुम्लामा पुरुषको तुलनामा महिला आर्थिक रुपमा सबल बन्दै गएको तथा बाह्य तथा आन्तरिक आर्थिक कारोबारमा समेत महिलाको पहुँच वृदि हुँदै गएको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले पैसाको महत्वबारे जानकारी गराउदै आवश्यक परेको ठाउँमा मात्र पैसा खर्च गर्नुपर्ने बताए । धनपैसा जीवनमा नभई नहुने भएकाले यसलाई सही सदुपयोग गर्न उनले आग्रह गरेका छन् । कार्यक्रममा प्रभू बैंक कर्णाली प्रदेश प्रमुख शरद तिमल्सिनाले गाउँ गाउँमा बैंक विस्तार गरिसकेकाले पनि सवैमा वित्तिय साक्षरता बढाउँदै जानुपर्ने बताए । उनले सुगममा मात्र नभएर दुर्गम क्षेत्रमा पनि बैकिङ्ग सेवा विस्तार गरिसकेकाले सर्वसाधारणलाई यसबाट लाभ लिन आग्रह गरेका छन् ।

कार्यक्रममा सेजनका अध्यक्ष भीम गौतमले ग्रामिण क्षेत्रमा सहकारी तथा वित्तीय क्षेत्रमार्फत करोडौंको आर्थिक कारोबार हुने तर उत्पादनमूलक क्षेत्रमा लगानी नहुने, कारोबारबारे महिलानै स्पष्ट नहुने भएकाले वित्तीय साक्षरता सञ्चालन गरिएको बताए । आफ्नो पुँजीलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्न उनले महिलालाई आग्रह गरेका छन् ।

कार्यक्रममा झन्डै ४० जनाको सहभागिता रहेको थियो । वित्तीय साक्षरता कार्यक्रमका सहभागी महिलाले शिक्षाकै अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताए ।

महिलालाई घरदेखि बाह्य आर्थिक कारोबारमा सक्रिय बनाउने, सहजै हिसाबकिताब राख्न सक्ने, आफ्नो बचत र ऋण सही ठाउँमा उपयोग गर्ने लगायतका विषयमा कार्यक्रममा जानकारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.