२०७६ फागुन ३० गते १५:१७ विकासन्युज
मेलम्ची । भूकम्पमा क्षतिग्रस्त सिन्धुपाल्चोकका ८० प्रतिशत विद्यालय पुनःनिर्माण सम्पन्न भएका छन् । भूकम्पपछि चार वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) परीक्षा अस्थायी सिकाइ केन्द्रमै सञ्चालन भएको थियो ।
परीक्षा केन्द्र कायम भएका केही विद्यालय भारतीय राजदूतावासमार्फत निर्माण शुरु गरिए पनि टहरामै बसेर परीक्षा दिन भने नपर्ने जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का इञ्जिनीयर शेरबहादुर पुजाराले बताए ।
यस वर्ष जिल्लाबाट चार हजार १०४ परीक्षार्थी एसइइमा सहभागी हुँदैछन् । परीक्षार्थीमध्ये एक हजार ८३४ छात्र र दुई हजार २६७ छात्रा छन् । भूकम्पपछि अस्थायी सिकाइ केन्द्रमा नै एसइई परीक्षा सञ्चालन हुने गरेको भए पनि सबै विद्यालय पुनःनिर्माण सम्पन्न भएपछि यस वर्ष भने परीक्षार्थीले सुविधासम्पन्न विद्यालयमा बसेर परीक्षा दिन पाउने भएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइले एसइई परीक्षाका लागि २३ परीक्षा केन्द्र निर्धारण गरेको छ । सम्बन्धित परीक्षा केन्द्रका प्रधानध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिइएको समन्वय एकाइ सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदीले जानकारी दिए।
जिल्लाका सामुदायिक र संस्थागत गरी यस वर्ष १४९ विद्यालयका विद्यार्थी एसइईमा सहभागी हुन लागेको प्रमुख सुवेदीले बताए । सामुदायिक १३६ र संस्थागत १३ विद्यालय छन् । एसइई परीक्षाका लागि सबै केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिकासमेत लगिसकिएको छ । माध्यमिक परीक्षा सञ्चालक समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत अन्य सुरक्षा निकायसँग समन्वय गरेर परीक्षा केन्द्रमा सुरक्षाकर्मीसमेत खटाइएको प्रमुख सुवेदीले जानकारी दिए ।
प्राविधिकधारतर्फ एसइईमा सहभागी हुने सबै परीक्षार्थीका लागि सदरमुकाम चौतारास्थित कृष्णरत्न गङ्गा माविमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्राविधिकधारतर्फ यस वर्ष १३२ परीक्षार्थी सहभागी हुँदैछन् । सिन्धुपाल्चोकमा चार सामुदायिक विद्यालयमा बाली विज्ञान र सिभिल इञ्जिनीयरिङ विषयका पढाइ हुने गरेको छ ।
त्यस्तै, ग्रेडवृद्धि परीक्षामा पनि १६ परीक्षार्थी सहभागी हुन लागेको समन्वय एकाइका प्रमुख सुवेदीले जानकारी दिए । तेइस परीक्षा केन्द्रमध्ये शारदा मावि बाह्रबीसेमा सबैभन्दा बढी ३६३ तथा सबैभन्दा कम महेन्द्रकान्ति मावि कालिकामा ८१ परीक्षार्थी मात्रै छन् ।
परीक्षाकेन्द्र रहेका सबै विद्यालय सुविधासम्पन्न रुपमा निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख यमबहादुर खड्काले जानकारी दिएका छन् । परीक्षा केन्द्र कायम भएका सबै विद्यालय निर्माण सम्पन्न भएका छन् । यस वर्ष परीक्षार्थीलाई कुनै असहज नहुने प्रमुख खड्काले जिकिर गरे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.