२०७६ फागुन ७ गते १५:४५ विकासन्युज
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलले चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिन भएको बताएका छन् । अर्थ समितिले बुधबार आयोजना गरेको एक कार्यक्रमा उनले सो कुरा बताएका हुन् ।
चालु आर्थिक वर्षको हालसम्म पुँजीगत तर्फ १९ प्रतिशत मात्र वित्तीय खर्च भएको बताउँदै उनले चालु आर्थिक वर्षको अन्तिमसम्म सरकारले लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिन हुने उनको भनाइ छ ।
‘पुँजीगत खर्च अभावमा काम गर्ने कर्मचारी र राजनीतिक दलका नेताको क्षमता अभाव हुन सक्छ, गत वर्षभन्दा पुँजीगत खर्चमा सुधार भएपनि चालु आर्थिक वर्षमा सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य भेटाउन गाह्रो छ,’ उनले भने ।
राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक भएको स्विकार्दै उनले यो हिसावले चालु आर्थिक वर्षमा ५२ प्रतिशत सम्म पुँजीगत खर्च हुन सक्ने उनकाे भनाइ छ ।
यो वर्षकाे चौमासमा दशैं तिहार परेकोले पनि पुँजीगत खर्च कम देखिएको उनको भनाइ छ । चालु आर्थिक वर्षको हालसम्म चालुगत तर्फ ४०.३३ प्रतिशत, पुँजीगततर्फ १९ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ २५ प्रतिशत खर्च भएको छ ।
सरकार भने ८.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य भेटाएरै छोड्ने दावीमा गर्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.