२०७६ माघ ८ गते १३:१५ विकासन्युज
काठमाडाैं । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा सुविधा सम्पन्न दुई वटा पर्यटक आवास गृह निर्माण हुने भएका छन् । खप्तड राष्ट्रिय निकुञ्जमा जाने पर्यटकका लागि दुई आवास गृह निमार्ण प्रक्रिया थालिएको छ।
पर्यटकको खाना वस्नका लागि आवास गृह निर्माणको प्रक्रिया थालिएको हाे । पर्यटन बोर्डले आवास गृह निर्माणका लागि ५ करोड रुपैयाँ छुट्याएको छ । खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले १ सय २५ बेडका दुई वटा आवास गृह निर्माण गर्ने निकुञ्जका रेञ्जर सुनिल बोहराले बताए ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै दुई वटा आवास गृह निमार्णको कार्य थालिएको उनले बताए । ती दुई वटा आवास गृह सुविधा सम्मपन्न र अन्य भौतिक संरचनासहित हुने छन् । बोहराले आगामी असोज/कात्तिकसम्म आवास गृहको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकाे उनकाे भनाइ छ ।
खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार खप्तड क्षेत्रमा एक सय बेडको आवास गृह बन्नेछ भने खप्तड क्षेत्रमा जाने बिचपानीमा २५ बेडको आवास गृह बनाउने गरी कार्य भइरहेको छ । दुई वटै आवास गृहका लागि ५ करोड लागत लाग्ने जनाइएको छ ।
आवासगृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको बोहराले बताए । पछिल्लो समयमा खप्तड क्षेत्रमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि पर्यटकलाई सुविधा पु¥याउने उद्देश्यले उक्त दुई वटा भवन निर्माण गरिन लागिएको हो ।
खप्तड राष्ट्रिय निकुञ्जभित्र खाने बस्ने राम्रो व्यवस्था नभएकोले राम्रो व्यवस्थापन चाहने मानिसहरु सामान बोकाउनको लागि खच्चडको प्रयोग गर्दै आएका छन् ।
सरकारले वि.सं. २०४३ सालमा २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज बनाएको हो । पूर्वाधार नबनेको खप्तड राष्ट्रिय निकुञ्ज पुग्नका लागि बझाङको लामातोला वा डोटीको झिंग्रानाबाट जान सकिन्छ।
प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण खप्तडमा २२ वटा ठूला पाटन र ५२ वटा झोता अर्थात रूखका थुम्काहरू छन्। खप्तड धार्मिक हिसाबले पवित्र मानिन्छ। यहाँ नागढुंगा, खप्तड दह, खप्तड आश्रम, सहस्र लिंग, त्रिवेणीघाट जस्ता पवित्र मानिने स्थल छन्।
खप्तडको अर्को आकर्षण भनेको खप्तड बाबाको आश्रम हो, जहाँ उनको मूर्ति र उनले प्रयोग गरेका केही सामान छन्। उनले खप्तडमा ५० वर्ष बिताएर विभिन्न पुस्तकहरु लेखेका थिए। प्राकृतिक रुपमा निकै मनमोहक खप्तडमा भौतिक पूर्वाधार केही नभएकाले खप्तडमा मेला भर्न आउनेहरु अस्थायी पाल र टहरामा रात बिताउने गर्छन्।
Copyright © 2024 Bikash Media Pvt. Ltd.