दोहोरो अंकले बढेकाे बजारमा ५५ करोडको कारोबार, नेपाल बङ्गलादेश बैंकको मात्रै ७ करोडको शेयर किनबेच

  २०७६ मंसिर २५ गते १५:३५     विकासन्युज

काठमाडौं । बुधबारको नेप्से परिसूचक १०.११ अंकले बढेर ११६१.४७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८८ प्रतिशतले बढेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.६९ अंकले बढेर २५५.१९ बिन्दुमा पुगको छ ।

बजारमा कूल १७३ कम्पनीको ५५ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जसमध्ये नेपाल बङ्गलादेश बैंकको मात्रै ७ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बैंकको ६ करोड ४१ लाख ६१ हजार ६४८ कित्ता संस्थापक(प्रमोटर) शेयर र एक करोड ५ लाख ७९ हजार ९१८ कित्ता साधारण शेयर गरी सो मात्राको शेयर किनबेच भएको छ । बुधबार बैंकको प्रमोटर शेयर र साधारण शेयरको मूल्य क्रमशः प्रतिकित्ता ११४ रुपैयाँ र २०५ रुपैयाँ रहेको छ । बढी कारोबारको टप टेनमा रहेका १० वटै कम्पनीको एक करोड बढीको शेयर खरिद बिक्री भएको छ ।

बुधबार उत्पादनमूलक बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ११३ अंकले बढेको छ । उत्पादनमूलक समूह भने ३०.३२ अंकले ओरालो लागेको छ ।

साे दिन ५ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी कमाएका छन् । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.९८, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ९.९५, यूनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल) तथा गणपति मात्रइक्रोफाइनान्स वित्तीय संस्थाको ९.८७/९.८७ र नयाँ नेपाल लघुवित्त विकास बैंकको शेयर मूल्य ९.८६ प्रतिशतले बढेको छ ।