रेवतबहादुर कार्की : धितोपत्र बजार सुधारका कोशेढुंगा, ४ वर्षमा के–के गरे, के गर्न सकेनन् ?

  २०७६ भदौ ३० गते ११:००     मेनुका कार्की / शंकर अर्याल

काठमाडौं । २०७२ साल असोज १६ गते तात्कालिन मन्त्रिपरिषदबाट नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्षमा डा. रेवतबहादुर कार्कीलाई नियुक्त गर्दैगर्दा २२ वर्षे इतिहास बोकेको नेपाली धितोपत्र बजार ज्ञान, प्रविधि, पहुँच र विश्वसनीयताका आधारमा भर्खरै वामे सर्दै थियो । शेयर बजारलाई बुझ्ने, बजारमा सहभागी हुनसक्ने र बजारप्रति विश्वस्त हुनसक्ने अवस्थामा रहेको सीमितताले गर्दा बजार एउटा सानो समूहको घेराभन्दा माथि उठ्न सकेको थिएन ।

२०७२ साल बैशाखको महाविनाशकारी भुकम्पले थिलोथिलो भएको नेपाली अर्थतन्त्र र त्यही विनाशबाट विक्षिप्त भएको नेपाली मनमात्रै नभएर संविधान जारी भएसँगै सुरु भएको भारतीय नाकाबन्दीको कहालिलाग्दो अवस्थाबीच २०७२ असोज १६ गते तात्कालिन मन्त्रीपरिषद्ले रेवतबहादुर कार्कीलाई धितोपत्र बजारको सर्वोच्च नियामकीय संस्थाको जिम्मेवारी दिएको थियो भने सोही महिनाको ३० गते उनले कार्यभार सम्हालेका थिए । ४ वर्षे कार्यकाल अन्तरगत सोमबार उनको कार्यकालको ३ वर्ष ११ महिना पूरा भएको छ । तर योबीचमा पहुँच र प्रविधिका आधारमा बजार निकै माथि पुगिसकेको छ ।

हुन त उनको कार्यकाल सुरु हुँदैगर्दा बजारले एउटा उचाई लिँदै थियो । भुकम्पपछि घरघरमा राखिएका सम्पत्तिहरु बैंकिङ र औपचारिक च्यानलमा आउनु तर ऋणको माग कम हुनुले लागत र प्रतिफलको हिसाबले बजारमा लगानी बढ्दै गएको अवस्था थियो त्योबेला । सो समयमा बैंकिङ व्याजदर औसत ६/७ प्रतिशतमा सीमित थियो, त्यसले पनि बजारलाई सकारात्मक असर गर्यो । आइतबारमात्रै  बजार परिसूचकले १७ अंकको घट्याे, त्यसो त केही समयदेखि बजार निरन्तर घट्दै आइरहेको पनि छ, त्यसो त उनकै कार्यकालमा बजारले इतिहासकै सबैभन्दा उच्च विन्दु समेत छोएकै हो । यसलाई उनको सफलता र असफलता जुनसुकै रुपमा व्याख्या गर्न सकिएला तर नियामकले बजार कति घट्यो र कति बढ्यो हेर्दैन, नियामकले बजार कुन दिशातिर गयो भनेर हेर्दैन तर बजार कसरी हिँडिरहेको छ भन्ने हेर्छ त्यो मानेमा उनको कार्यकाल अत्यन्तै सार्थक देखिएको छ ।

के के गरे उनले ?

माथि भनिएजस्तै बजारलाई प्रविधिमैत्री बनाउँदै आम जनतामा यसको पहुँच विस्तार गर्न, बजारसम्बन्धी ज्ञानको विस्तार गर्न र बजारप्रतिको सहभागिता र विश्वसनीयता बढाउने कुरामा कार्कीको नेतृत्वमा भएका प्रयासहरु अविष्मरणीय मानिन्छन् ।

खासगरी बर्षौंदेखि भौतिक रुपमा रहेका शेयर स्क्रिपहरुलाई अभौतिकीकरण गर्दै कारोबार र राफसाफ प्रणालीलाई सहज बनाउन नयाँ डिपोजिटरी र क्लियरिङ प्रणालीको विकास गर्नु, बजारको कारोबार अनलाइन प्रविधिमार्फत् गर्न आवश्यक सहजीकरण र निर्देशनहरु दिनु, शेयर बाँडफाँडमा पहिले रहेको ठूला र साना लगानीकर्ताबीचको विभेद अन्त्य गर्दै सबैका लागि शेयरको अवधारणा विकास गर्नु, नयाँ कम्पनीहरुको आईपीओ, एफपीओ र हकप्रद शेयरहरुको निष्कासन प्रक्रियालाई छिटो र सजिलो बनाउनु, बजारमा रहेका एजेन्टहरुको क्षमता र सञ्जाल विस्तारका लागि महत्वपूर्ण योगदान गर्नु, बजारमा मार्जिन ट्रेडिङका लागि आवश्यक वातावरण बनाउनु लगायतका विषयहरुमा उनको ठूलो योगदान रह्यो ।

पहिले बजारको खरिदबिक्री ब्रोकरमा गएर लिखित रुपमा आदेश दिएपछि मात्रै हुन्थ्यो । मोबाइलको पहुँच विस्तारसँगै फोनमार्फत् दिइने आदेशलाई समेत स्वीकार गर्नसक्ने गरी गरेको व्यवस्थाले लगानीकर्ताले आफ्नै घर र अफिसमा बसेर शेयर कारोबार गर्नसक्ने अवस्था सिर्जना भयो ।

नेपाल स्टक एक्सचेञ्जलाई अनलाइन प्रविधिमा लैजानेतर्फ पनि बोर्डको अध्यक्षको रुपमा कार्कीले महत्वपूर्ण भूमिका निर्वाह गरे । तर नेप्सेका तात्कालिन महाप्रबन्धक सीताराम थपलियासँगको सम्बन्धका कारण उनको प्रयास सफल हुन अन्तिम वर्ष नै कुर्नुपर्यो । यो प्रणालीको सुरुवात भएसँगै ब्रोकरहरुलाई उपत्यकाबाहिर शाखा र उपशाखा कार्यालयहरु खोल्ने अवस्था सिर्जना भयो । अहिले ब्रोकरहरुले उपत्यकाबाहिरका मुख्य/मुख्य शहरहरुमा शाखा विस्तार गरिसकेको छ ।

अर्को महत्वपूर्ण काम भनेको प्राथमिक शेयरको बाँडफाँडका ल्याएको नयाँपन हो । पहिले कुनैपनि शेयरको आवेदनका लागि लामो लाइन बस्नुपर्ने, नगदमा कारोबार गर्नुपर्ने, बाँडफाँडमा नपरेको शेयरको रकम फिर्ता लिन पनि उत्तिकै झन्झट ब्यहोर्नुपर्ने अवस्था थियो । यसलाई आश्वा प्रणालीमार्फत् घरमै बसेर वा सम्बन्धित बैंकमा गएर आवेदन गर्नसक्ने व्यवस्थाका कारण लगानीकर्ताहरुको समयमा ठूलो बचत सिर्जना भयो ।

त्यतिमात्रै नभएर प्राथमिक शेयरको बाँडफाँड प्रक्रियामा समेत गरेको परिवर्तनले सबैका लागि न्यूनतम १० कित्ता नघट्नेगरी सम्भव भएसम्म सबै आवेदकले पाउने व्यवस्था समेत बोर्डले गर्यो । यसले गर्दा बजारमा लगानीकर्ताहरुको सहभागिता समेत बढ्दै गयो । हालसम्म साढे १५ लाख लगानीकर्ताहरुले शेयर आवेदनका लागि डिम्याट खाता खोलेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

कार्कीको नियमित बिदा सुरु हुनुभन्दा केही दिन अघिमात्रै बोर्डले बजारमा शेयरको मार्जिन कारोबारका लागि सबै प्रक्रिया पूरा भएको समेत जनाएको छ । नेपाल राष्ट्र बैंकसँग समेत विवाद भएको सो विषयलाई कार्कीले आफ्नै कार्यकालमा सार्थक तुल्याएका छन् । खासगरी बजारको कारोबारसँग परिचित भएका र नियमित रुपमा आम्दानी हुने व्यक्तिहरुका लागि यो प्रणालीमार्फत् उपयुक्त समयमा कर्जा लिएर शेयर किन्नसक्ने वातावरण यो कारोबारले सुरु गर्ने अपेक्षा लिएको छ ।

त्यसबाहेक बजारसम्बन्धी सचेतना कक्षा सञ्चालन गर्ने, बजारमा कालोधनहरुलाई निरुत्साहन गर्ने सन्दर्भमा समेत धितोपत्र बोर्डले यो अवधिमा ठूलो सफलता हासिल गरेको छ । सन् २०२१ मा एएमएल सीएफटीका सम्बन्धमा हुँदै गएको समीक्षाबाट नेपाललाई कालोसूचीबाट जोगाउन वित्तीय क्षेत्रको एउटा महत्वपूर्ण अंगको रुपमा यो प्रयास पनि अपरिहार्य थियो ।

कार्कीले गर्न नसकेका कामहरु

यी प्रयासहरुका बाबजुत बोर्ड अध्यक्षको रुपमा रेवतबहादुर कार्कीले केही प्रयासहरुलाई निष्कर्षमा पुर्याउन सकेकन् । खासगरी गैर आवासीय नेपालीहरुलाई बजारको पहुँचमा ल्याउने सम्बन्धमा उनका प्रयासले सार्थकता पाउन सकेको छैन । त्यस्तै, कमोडिटिज एक्सचेञ्जको विषयमा उनको भूमिकालाई बजारले शंकास्पद रुपमा हेरेकै हो । लाइसेन्सका लागि पहिले कम्पनीहरुसँग आवेदन लिने तर त्यसपछि सम्भाव्यता अध्ययनको नाममा २ वर्षसम्म झुलाउने र अन्त्यमा देशमा २ ओटा भन्दा बढी त्यस्तो बजारको आवश्यकता नरहेको निष्कर्षमा निकालेर सबै आवेदकलाई अयोग्य घोषणा गर्ने काम निकै विवादित बन्यो । त्यस्तै, स्टक डिलरका लागि ठूला कम्पनीहरुलाई अघि बढाउने दिशामा भएका प्रयासहरु सफल हुन सकेका छैनन् ।

पुँजीबजारकै क्षेत्रमा विद्यावारिधि गरेका र बैंकिङ र पुँजीबजारकै क्षेत्रमा लामो अनुभव समेत रहेका कार्की ज्ञान र मनका हिसाबले क्षमतावान व्यक्ति मानिन्छन् तर समन्वयात्मक हिसावले भने उनी ज्यादै कमजोर देखिन्छन् । आलोचकहरुसँग बोल्नै नचाहने, छलफल गर्नै नचाहने उनको शैलीले उनले गरेका राम्रा कामहरुलाई ओझेलमा पार्ने काम गरेको छ । भाषण र प्रस्तुतीकलामा भएको कमजोरीले गर्दा उनी बेलाबेलामा हास्यपात्र बन्नुपरेका कतिपय उदाहरणहरु समेत छन् ।

नेपाली पुँजीबजारमा अहिले शेयर बजारकै वर्चस्व छ । शेयर बजारमा पनि बैंकिङ क्षेत्रकै बढी दबदबा पाइन्छ । यो अवस्थालाई चिर्न बजारमा धेरै अभ्यासहरु हुनु आवश्यक छ । त्यसबाहेक बजारलाई अन्तराष्ट्रिय बजारअनुकुल बनाउनु, अन्तर्राष्ट्रिय कम्पनीहरुलाई नेपाली धितोपत्र बजारमा सहभागी बनाउनु वा नेपाली कम्पनीहरुलाई विदेशी बजारमा जाने वातावरण दीर्घकालमा बनाउनुपर्छ, यसका लागि विज्ञको हिसाबले उनको सहयोग भविष्यमा समेत अपरिहार्य हुन्छ ।

खासगरी, रेवतबहादुर कार्कीको कार्यकालले चार हात पाउ, टेकेर हिँड्ने धितोपत्र बजारलाई वयस्क हिँडाई हिँड्न सिकायो, दौडन सक्षम समेत बनायो, तर दौडिन योग्य बनेको बजार अब अर्थतन्त्रको म्याराथनमा सहभागी हुन्छ कि सडक किनारामा लर्खराउँदै हिँड्छ, त्यो बजारले नै निर्धारण गर्ने विषय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.