झुट्टा बीमा दावी गर्नेहरु अब कालोसूचिमा, कर्मचारीलाई कम्पनी फेर्न कडाई, प्रतिस्पर्धी विरुद्ध बोल्न पनि नपाईने

  २०७६ भदौ २५ गते १९:१७     विकासन्युज

काठमाडौं । नेपाल बीमक संघले निर्जीवन बीमा कम्पनीहरुको लागि कडा आचार संहिता बनाएको छ । बीमा कम्पनीहरुबीचको अस्वस्थ्य प्रतिस्प्रर्धा रोक्न, कर्मचारी तानातान प्रवृतिलाई नियन्त्रण गर्न, झुट्टा बीमा दावी भुक्तानीलाई नियन्त्रण गर्न आचार संहिता बनाइएको संघले जनाएको छ । आचारसंहिता असोज ३ गतेदेखि लागू हुनेछ ।

बीमा व्यवसायका सिलसिलामा कुनै पनि बीमा कम्पनीका कर्मचारी तथा प्रतिनिधिले अर्को बीमकका विरुद्ध बोल्न र लेख्न रोक लगाईएको छ । अर्को कम्पनीले लिन लागेको व्यवसाय खोस्न पनि रोक लगाईएको छ ।

‘बीमितसँग व्यवसायको सिलसिलामा कुनै पनि बीमक वा त्यसका प्रतिनिधिले अर्को बीमकको विरुद्ध कुनै नकारात्मक सन्देश दिने, नकारात्मक टिप्पणी गर्ने, अर्को बीमकका बिरुद्ध गलत सन्देश दिई व्यवसाय भड्काउने, आफूले लिने कार्य गर्नु गराउनु हुँदैन’ आचारसंहितामा लेखिएको छ ।

बीमकहरुबीच कर्मचारी तानातान रोक्न बीमक संघले कठोर निर्णय लिएको छ । कुनै पनि कम्पनीमा कार्यरत कर्मचारी अर्को कम्पनीमा नियुक्त लिनुपूर्व पहिलो कम्पनीबाट राजीनामा स्वीकृत भएको पत्र अनिवार्य पेस गर्नु पर्नेछ । अधिकृत वा सो भन्दा माथिल्लो पदमा बसेका कर्मचारीले पुरानो कम्पनीमा बर बुझारथ भएको १ महिनापछि मात्र नियुक्ती दिनु पर्नेछ ।

पुरानो कम्पनीको हरहिसाव फरफारक हुन बाँकी रहेको, कम्पनीलाई हानी नोक्सानी पुर्याई कारवाही चलिरहेको कर्मचारीले अर्को कम्पनीमा जागिर खान नपाउने भएको छ । सामान्य अवस्थामा कर्मचारीले राजीनामा गरेमा बीमा कम्पनीले १ महिनाभित्र राजीनामा स्वीकृत दिनुपर्ने भएको छ ।

त्यस्तै, एउटा बीमा कम्पनीमा परेको दावीका सम्बन्धमा बीमितलाई अर्को कम्पनीका प्रमुख कार्यकारी अधिकृत वा अन्य कर्मचारीले राय दिन नपाउने व्यवस्था गरिएको छ । बीमकले बीमित वा सम्बन्धि व्यक्तिलाई कुनै प्रकारको जिन्सी, नगद, उपहार वा छुट लिन दिन रोक लगाईएको छ ।

बीमा कम्पनीलाई धोका दिने सर्भेयरलाई कारवाही गर्न संघले समितिमा सिफारिस पनि गर्न पाउने भएको छ । कुनै सर्भेयरले कम्पनीलाई सर्भे रिपोर्ट नदिने, क्षति मूल्याङ्कनमा अनियमितता गर्ने जस्ता गलत काम गरेमा बीमा कम्पनीले त्यस्ता सर्भेयर विरुद्ध बीमक संघमा उजुरी गर्न सक्ने र संघले सर्भेयरलाई कारवाही गर्न बीमा समितिमा सिफारिस गर्न सक्ने सहमति सबै कम्पनीले गरेका छन् ।

त्यस्तै, झुटो बीमा दावी गर्नेलाई बीमक संघले कालोसूचिमा राख्ने भएको छ । कुनै पनि बीमकसंग बलजफ्ती झुट्टा दावी लिन प्रयास गरेमा बीमित, त्यस्तो कार्यमा संलग्न कम्पनीका कर्मचारी, प्रतिनिधि, सर्भेयर सबैको अभिलेख बीमक संघले राख्ने र यस्तो कार्यमा संलग्नलाई भविष्यमा कुनै पनि बीमकले बीमा सेवा नदिने निर्णय भएको छ ।

सबै बीमा कम्पनीहरुले बीमा समितिले तोकेको बीमा दर पूर्ण रुपमा परिपालना गर्ने तथा दर घटाएर एउटा पनि बीमा लेख बिक्री नगर्ने आचार संहितामा उल्लेख छ । बीमाको दर नतोकिएको बीमाका लागि बीमक संघले दिग्दर्शन बनाई लागू गर्ने भएको छ ।
बीमक संघले बीमा कम्पनीहरुको लागि परामर्श सेवा पनि दिने भएको छ । बीमकलाई कानुनी, नियामकीय वा प्राविधिक राय आवश्यक परेमा संघले परामर्श सेवा दिने भएको छ ।

झुट्टा बीमा दावी गर्नेलाई कालोसूचिमा राख्नेदेखि बीमा व्यवसायमा जोडिएर गलत गर्ने जो कोहीलाई कारवाहीको सिफारिस गर्ने अधिकार बीमक संघलाई प्रदान गरिएको आचार संहितालाई बीमा समितिले पनि समर्थन गरेको छ । बीमा समितिका उच्च अधिकारीहरुलाई सहभागी गराएर आचार संहिता तयार गरेको र यसको कार्यान्वयनमा बीमा समितिको पूर्ण सहयोग हुने संघका एक पदाधिकारीले विकासन्युजलाई जानकारी दिए । आचार संहिता पालना नगर्ने कम्पनीलाई संघले स्पष्टिकरण लिने, सचेत गराउने, सदस्यता निलम्बन गर्ने तथा सदस्यता ब्रखास्त गर्ने सम्मको अधिकार संघमा रहेको आचारसंहितामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.