२०७६ भदौ ६ गते १३:४० डोमी शेर्पा
काठमाडौं। थापाथली स्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले स्थापनाको ६० औं बर्ष पार गरेको छ। सोही अवसरमा शुक्रबार एक समारोहका बीच वार्षिकोत्सव मनाएको छ ।
वार्षिकत्सवको अवसरमा अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले अस्पताललाई आगामी दिनमा अझै राम्रो बनाउँदै लैजाने बताए । ‘५०० बेडको अस्पताललाई अझै ठुलो बनाउन हामी लागि परिरहेका छौं’- गौतमले भने । यस्तै, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. शुशिलनाथ प्याकुरेलले अस्पतालमा थप बेड थप्न भन्दा अन्य ठाउँमा सेवा विस्तार गर्न सुझाव दिएका छन्।
कार्यक्रममा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव पुष्पा चौधरी, न्याम्सका भिसी तथा प्राध्यपक डिएन शाह तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक प्याकुरेलको उपस्थिती रहेको थियो ।
अस्पतालले वार्षिकोत्सवको अवसर पारेर आफ्ना कर्मचारीहरुलाई विभिन्न विधामा पुरस्कृत गरेको थियो ।
स्थापना
पुरानो नाम परोपकार श्री ५ ईन्द्र लक्ष्मी देवी प्रसुती गृह हो । तत्कालीन राजा महेन्द्र युवराज हुँदाको समयमा उनकी श्रीमतीलाई गर्भवती अवस्थामा जटिलता आएको कारण मृत्यु भएकै कारण राजपरिवारले यसको स्थापना गरेको हो । त्यसैले अस्पताललाई उनकै नाममा दिईयो । राजपरिवारले २०१० सालमा थापाथलीमा २८ रोपनी जग्गा र कुपन्डोलमा ३५ रोपनी जग्गा व्यवस्था गरेर परोपकार संस्थासँग अस्पताल निर्माण सुरु गरेको हो । २०१६ सालमा अस्पतालको भवन निर्माण भएको हो र २०१६ सालमा यो ४० बेडको अस्पतालको रुपमा सुरु भएको हो ।
त्यसपछी अस्पताललाई परोपकार संस्थाले चलाईरहँदा नेपाल सरकारले अस्पताललाई आफुले लिएर चलाउन थालेको छ । अहिले अस्पतालमा १० प्रतिशत नेपाल सरकारका कर्मचारी रहेका छन् भने बाँकी ९० प्रतिशत समितिका कर्मचारी रहेका छन् । ६३३ जना कर्मचारीको अहिले अस्पतालमा कार्यरत छन् ।
नेपालको मान्छे उत्पादन गर्ने फ्याक्ट्री
नेपालमा सबैभन्दा बढी डेलिभरी हुने अस्पताल हो प्रसुती गृह, गत साल मात्र अस्पतालबाट २२ हजार १ सय जनाको डेलिभरी भएको थियो । अस्पतालमा हरेक दिन ६१ जनाको डेलिभरी हुने गर्छ । यस्तै ८ हजार मेजर अप्रेसन र २ हजार माईनर अप्रेसन भएका छन् । प्रसुती गृह मान्छे उत्पादन गर्ने फ्याक्ट्री जस्तो लाग्ने गरेको निर्देशक गौतम बताउँछन् ।
अस्पतालको शैक्षिक पाटो
अस्पतालको आफ्नै नर्सिङ कलेज रहेको छ । यस्तै अस्पतालले एमडी लेभलको विद्यार्थीलाई पढाउने गरेको छ । अस्पतालले ग्लोबल स्तरको अनुसन्धान गर्दै आएको छ । अस्पतालले अनुसन्धानको आर्टिकलहरु अन्तरराष्ट्रिय जर्नलहरुमा प्रकाशित हुने गरेको छ ।
प्रसुतिका सबै सेवा नि:शुल्क
अस्पतालको सबैभन्दा पुरानो भवनमा क्याबिन रहेको छ, जसमा उपचार गर्न भने शुल्क लाग्ने गर्दछ । त्यस बाहेक जेनेरल वार्डमा बस्ने बिरामीलाई डेलिभरी नि:शुल्क रहेको छ, साथै आमा बच्चालाई आईसियुमा राख्नु परे पनि नि:शुल्क र आमाको अपरेसन गर्नुपरे पनि नि:शुल्क रहेको छ । घर जाने बेला २ हजार खर्च र साथै ४ पटक एन्टीनेटल जचाउँन आउने बिरामीहरुलाई अस्पतालले २०० को दरले आठ सय रुपैंया दिने गरेको छ।
नयाँ भवन
भर्खरै नेपाल सरकारको समन्वय र जापान सरकार जाइकाको सहयोगमा परोपकारको नयाँ भवन बनेको छ । करिब १ करोड ३ अर्बमा अस्पताल निर्माण भएको हो । नेपाल सरकारले भने अस्पतालको फर्निचरको लागि १ करोड सहयोग गरेको छ । अस्पताल पहिलाको भन्दा राम्रो देखिएको छ। बच्चाको आईसियु १७ बेडबाट ४० बेड पुगेको छ। ३ वटा अपरेसन थिएटर, नर्सहरुले मात्र व्यवस्ता गर्ने लेबर रुम रहेको छ।अस्पताललाई सामान्य मानिसले सोच्दा प्रसुती सेवा मात्र उपलब्ध रहेको बुझ्छन् तर अस्पतालमा प्रसुती सेवासँगै महिला रोगसँग सम्बन्धित उपचार हुने गर्दछ । महिला स्वास्थ्यसँग सम्बन्धित हरेक रोगको निदान रहेको अस्पताल दाबी गर्दछ । अस्पतालले अब छिट्टै मै टेस्टयुब बेबी सेवा सुरु गर्ने जनाएको छ ।
ईमर्जेन्सीमा २४ सैं घण्टा डाक्टर
अन्य अस्पतालहरुमा इमर्जेन्सीको लागि डाक्टर खोजिरहनु पर्दा परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा भने २४ सै घण्टा १० जना डाक्टर जहिले पनि अस्पताल भित्रै रहिरहने निर्देशक गौतम बताउँछन् । डाक्टरहरु अस्पतालमा बस्ने खाने गर्ने गरेका छन् । अस्पतालमै जुन समयमा पनि अपरेसन गर्ने व्यवस्था छ । अस्पतालले एउटा डेलिभरी बराबर २५०० खर्च गर्ने गरेको छ । नेपाल सरकारले १५ सय रुपैयाँ दिने गरेको छ। एउटा अप्रेसन गर्दा अस्पतालको १० हजार खर्च हुन्छ भने नेपाल सरकारले ७ हजार दिने गरेको छ।
आम्दानी ५ बर्षमा ९ करोड देखी २० करोड
अस्पतालको आम्दानी बर्षमा २० करोड पुगेको छ। अस्पतालमा धेरै परिवर्तन भएको छ । अहिले अस्पतालमा ५०० बेड रहेको छ । ४१५ नेपाल सरकारबाट स्वीकृति प्राप्त रहेको छ भने बाँकी बेड अस्पतालले आँफै चलाएको छ । यस्तै ओपिडीमा ५ बर्ष अगाडि बिरामीको संख्या १ लाख थियो, अहिले बढेर २ लाख पुगेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.