डिएपी मलको आपूर्ति, धनगढी र बौनियाबाट बिक्री शुरु

  २०७६ असार २३ गते १२:००     विकासन्युज

धनगढी । कैलाली जिल्लामा रासायनिक मल डिएपीको अभावका कारण कृषक समस्यामा परेपछि सरकारले रासायनिक मल आपूर्ति गर्न पहल गरेको छ । सङ्घीय सरकार र प्रदेश सरकारको पहलमा डिएपी मल आपूर्ति भई सोमबारबाट कैलालीको धनगढी र बौनिया गरी दुई ठाउँबाट बिक्री वितरण शुरु गर्न लागिएको साल्ट ट्रेडिङ कर्पोरेशनको धनगढी कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

वीरगञ्जस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा मौज्दात रहेको डिएपी मलमध्ये ५०० मेट्रिक टन मल कैलालीमा आपूर्ति गरिएको पाण्डेले बताए । सरकारको अनुदानित उक्त ५० किलो प्रतिबोरा मलको रु दुई हजार २७६ मा बिक्रीवितरण गर्न लागिएको जनाइएको छ ।

रोपाइँ गरेकै दिन प्रयोग गर्नुपर्ने डिएपी मलको अभाव हुँदा किसान समस्यामा छन् । यस वर्ष मनसुन अहिलेसम्म सक्रिय हुन नसक्दा कैलालीलगायतका जिल्लामा असार तेस्रो हप्तासम्म अधिकांश जग्गामा रोपाइँ हुनसकेको छैन । सरकारी अनुदानको मल विक्रेता कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको धनगढीस्थित गोदाममा डिएपी मलको मौज्दात जेठ महिनामै सकिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.