२०७६ असार १२ गते १७:३३ विकासन्युज
काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ग्रुप अफ टेक्निकल असिस्टेन्ससंगको सहकार्यमा दुई दिने अन्तर्राष्ट्रिय गोष्ठि आयोजना गर्ने भएको छ । असार १३ र १४का दिन ललितपुरमा आयोजना हुने गोष्ठिको उद्घाटन उप–प्रधान तथा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रीको प्रमुख आतिथ्यमा हुनेछ । ‘बिरामी सुरक्षाको सुदृढ ढाँचाको विकास‘ विषयमा यो सम्मेलन केन्द्रित रहनेछ ।
अमेरिका स्थित रोग नियन्त्रण तथा निवारण केन्द्रका अनुसार बिरामीहरुको उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीहरुको भुलचुकले वर्षमा २ लाख ५० हजार बिरामीहरु अस्पतालमै मृत्यु हुने गरेको छ । मृत्युको कारणहरुमध्ये अमेरिकामा यसरी मृत्युहुनेहरुको संख्या तेश्रो नम्बरमा रहेको पाइएको छ जुन सडक दुर्घटनाबाट मृत्यु हुनेहरुको संख्यासंग तुलनात्मक रुपमा रहेको छ ।
नेपाल मेडिसिटी अस्पतालले बिरामी सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सोका लागि आवश्यक नीति तथा प्रक्रिया अघि सार्दै भारतको गुणस्तरीय बोर्डद्धारा नेशनल अक्रेडिटेशन बोर्ड फर हेल्थ एण्ड हस्पिटलको अन्तर्राष्ट्रिय मान्यता समेत प्राप्त गरिसकेको छ । बिरामीको स्वास्थ्यमा प्रभाव पार्ने प्रत्यक्ष तथा अप्रत्यक्ष क्रियाकलापबारे जान्ने अवसर यस सम्मेलनका सहभागिले पाउने छन् । सुरक्षाका विषयमा स्वास्थ्य कर्मीहरुबीच छलफल गर्दै यसको बृहत विकासका लागि सल्लाह, सुझाव र प्रतिक्रियाहरु संकलन गरी अस्पताललाई पूर्ण रुपमा सुरक्षित बनाउने अपेक्षा यो सम्मेलनले राखेको छ ।
उत्साहजनक सहभागिता देखाइएको यस सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञद्वारा मौखिक प्रस्तुति, पोष्टर प्रस्तुति, कि नोट सम्बोधन तथा प्यानल छलफल हुँदैछ । विश्व स्वास्थ्य संगठन, अमेरिका, बेलायत, जर्मनी, खाडी मुलुक, भारत लगायतका विभिन्न स्थानबाट स्वास्थ्यक्षेत्रको नेतृत्वतहका प्रतिनिधिहरु यस सम्मेलनका लागि नेपाल आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.