असार भित्रै नागढुंगा-नौबिसे सुरुङ मार्गको निर्माण आरम्भ हुँदै

  २०७६ असार १२ गते ११:१८     विकासन्युज

काठमाडौं । नागढुंगा-नौबिसे सुरुङ मार्गको काम असार महिनाभित्रै आरम्भ हुने भएको छ । जापान सहयोग नियोग(जाइका)को सहुलियत ऋणमा निर्माण हुन लागेको सुरुङ मार्ग निर्माणको काम असार भित्रै ठेकेदार परिचालन गर्ने तयारी भएको हो । ठेक्का आव्हान भएको झण्डै एक वर्षपछि मात्रै निर्माण आरम्भ गर्न लागिएको हो ।

‘असार मसान्तभित्रै निर्माण आरम्भ गर्ने तयारी भैरहेको छ, केहि दिनभित्रै निर्माण व्यवसायी छनौट हुन्छ’, आयोजनाका इञ्जिनियर छविलाल पौडेलले भने । पाँच वटा चिनियाँ र एउटा जापानी कम्पनीले निर्माणका लागि आवेदन दिएका थिए । सडक विभागको आयोजना कार्यान्वयन महाशाखाले सुरुङ मार्ग निर्माणका लागि २०७५ साउन २४ गते ग्लोबल टेण्डर निकालेको थियो । तोकिएको ६० दिने अवधि अर्थात कात्तिक ८ गतेभित्र ६ वटा कम्पनीहरुले निर्माणको इच्छा जाहेर गरेर आवेदन दिए । निर्माण आरम्भ भएको ४२ महिनामा निर्माण सम्पन्न गर्ने योजना थियो तर अझै कसले जिम्मेवारी पाउने भन्ने नै एकिन भएको छैन ।

यस्तो हुनेछ सुरुङ मार्ग
नेपालमै पहिलो पटक सडकमा निर्माण हुन लागेको सो सुरुङ मार्गको लम्बाई २.६८८ किलोमिटर रहेको छ । दुई लेनको सुरुङमार्गमा ३.५ र ३.५ मिटरका दुई वटा लेन र १.५ मिटर चौडाईको इमर्जेन्सी ट्रयाक रहनेछ ।

सुरुङको चौडाई भने ९.५ मिटरको हुनेछ र उचाई ५ मिटरको हुनेछ । सुरुङमा पुग्न काठमाडौं तर्फ मुल सडकबाट २.३७० किलोमिटर बाटो विस्तार गरिनेछ भने धादिङ तर्फ ५६५ मिटर सडक विस्तार गरिनेछ । काठमाडौं खण्डमा पर्ने २६७ रोपनीमा र धादिङ खण्डमा पर्ने १०९ रोपनी जमिन अधिग्रहण हुनेछ ।

सरकारले मुआब्जाको रकम आफ्नै श्रोतबाट उपलब्ध गराउनेछ भने सुरुङ निर्माणका लागि जाइकाको सहुलियत ऋण उपयोग गरिनेछ । काठमाडौं तर्फ सुरुङ मार्गको प्रस्थान विन्दु टुटीपाखा हुनेछ भने धादिङमा सिस्नेखोला हुनेछ । सुरुङ मार्गमा इन्धन बोक्ने गाडी तथा मोटरसाइकललाई प्रवेश निषेध गरिनेछ ।

सुरुङ मार्गको उपयोग वापत २५ रुपैंयाँ शुल्क असुल्ने प्रारम्भिक सोँच तयार भएको छ । मार्ग निर्माणका लागि जापानले ०.०१ प्रतिशतको ब्याजदरमा ४० बर्षका लागि ऋण दिएको छ । जापानले १६ अर्ब २८ करोड रुपैंयाँ ऋण सहयोग उपलब्ध गराएको हो । निर्माण सम्पन्न भएको १० बर्षपछिसम्म ऋणको सावाँ तथा ब्याज तिर्नुपर्ने छैन् । त्यसपछिको ३० बर्ष भित्र भने नेपालले सावाँ तथा ब्याज दुबै भुक्तानी गरिसक्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.