९३.६ किमी विद्युतीय रेलमार्ग निर्माण, एक हजार ५६ किमीको अध्ययन

  २०७६ जेठ १४ गते १४:१६     विकासन्युज

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६ किमी मार्ग निर्माण सम्पन्न भएको उल्लेख छ ।

यसैगरी जयनगर-कुर्था ३५ र कुर्था-बिजुलपुरा १७ किमीको ट्रयाक बेडको निर्माण सम्पन्न भएको छ । काठमाडौँ उपत्यका मेट्रोरेलअन्तर्गत सातदोबाटो-नारायणगोपालचोक २० किमीको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । खोकना-सातदोबाटो र नारायणगोपाल चोक बूढानीलकण्ठसम्मको १० किमीको सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढेको छ । बिजुलपुरा बर्दिवास खण्डको मुआब्जा वितरण शुरु भएको जनाइएको छ ।

चीन सरकारको सहयोगमा केरुङ-काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको छ । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत अध्ययनको प्रक्रिया अघि बढेको सर्वेक्षणमा उल्लेख छ ।

भारत सरकारको सहयोगमा वीरगञ्ज-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन शुरु भएको छ । मेची-महाकाली रेलमार्गको लम्बाइ ९४५ किमी छ । लिङ्क मार्गसहित एक हजार ५६ किमी रेलमार्गको विस्तृत अध्ययन सम्पन्न भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.