भक्तपुरको नेपाल क्यान्सर अस्पतालमा ब्राकिथेरापी सेवा सुरु

  २०७६ वैशाख १८ गते १२:४९     विकासन्युज

काठमाडौं। भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टरले बुधबारबाट हाई डोज रेट ब्राकिथेरापी सेवा सुरु गरेको छ।

विभिन्न क्यान्सरहरूमा, विशेषगरी पाठेघरको मुखको क्यान्सरको उपचारमा अत्यन्त महत्त्वपूर्ण यो उपचार प्रविधि सुरु गरेपछि अब क्यान्सरका बिरामीले यस अस्पतालमा सहज उपचार पाउने भएका छन्।

यो मेसिनको प्रयोगबाट पाठेघरको मुखको क्यान्सर, प्रोस्टेट, मुखको क्यान्सर, स्तन र खाने नलीको क्यान्सरलगायत अधिकांश क्यान्सरमा रेडियोथेरापी दिन सकिन्छ। आधुनिक ३-डी प्लानिङ सहितको उक्त विश्वस्तरीय प्रणाली क्यान्सरको उपचारमा निकै नै सुरक्षित र प्रभावकारी विधि मानिन्छ।

शुल्कका हिसाबले पनि यो सेन्टरमा ब्राक्रिथेरापी शुल्क सरकारी अस्पतालहरूकै हाराहारीमा हुने कुरा अस्पताल प्रशासक सुदर्शन पौडेलले बताए।

क्यान्सरको उपचारमा नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य लिएर तीन वर्षअघि भक्तपुरको नाला रोड, ताथलीमा ‘काठमाडौं क्यान्सर सेन्टर’ सञ्चालनमा आएको हो। क्यान्सरको सम्पूर्ण उपचार उपलब्ध गराउने सोचका साथ सुरु भएको यो अस्पतालले नयाँ प्रविधि भित्र्याउँदै दक्ष जनशक्तिका साथ सेवा विस्तार गर्दै आएको छ।

अत्याधुनिक लिन्याकबाट ३-डी रेडियोथेरापी, आई-यम-आर-टी तथा भि-म्याट रेडियोथेरापी नियमित रूपमा दैनिक ६० जना बिरामीले पाइरहेका छन्।

भारतमा समेत निकै कम अस्पतालमा उपलब्ध रहेको रक्त क्यान्सर र बोनम्यारो प्रत्यारोपणमा उपयोगी टोटल बडी इर्याडीकेशन र छालाको क्यान्सरमा टोटल स्किन इलेक्ट्रोन थेरापी नेपालमा काठमाडौँ क्यान्सर सेन्टरमा मात्रै उपलब्ध छ।

अस्पतालमा रेडियोथेरापीसँगै केमोथेरापी, प्यालिएटिभ केयर, रेडियोलोजी, फिजियोथेरापी, र फार्मेसी सेवा छन् र छिट्टै क्यान्सर सल्यक्रिया पनि सुरु हुने अस्पताल प्रमुख तथा क्यान्सर रोग विशेषज्ञ डा सीमित सापकोटाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.