बैदेशिक लगानीः उद्योग दर्ता १८ प्रतिशत बढेपनि लगानी प्रतिवद्धता रकममा ५८ प्रतिशतले कमी

  २०७५ चैत ८ गते १२:५०     राजाराम न्यौपाने

काठमाडौँ । अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा बैदेशिक लगानीको प्रतिबद्धता रकममा ५८ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०७४/०७५ को साउनदेखि चैत सम्मको ८ महिना र चालु आर्थिक वर्षको सोही अवधिको तथ्याङ्कले यस्तो देखाएको हो । लगानी प्रतिबद्धतामा कमी आएपनि उद्योग दर्ताको संख्या भने १८ प्रतिशतले बढेको छ ।

उद्योग विभागको तथ्याङ्क अनुसार २०७४ साउनदेखि चैत ३ गतेसम्म १९४ वटा उद्योगमा ३ अर्ब ४१ करोडको लगानी प्रतिवद्धता आएको थियो । तर, २०७५ साउनदेखि चैत ३ गतेसम्म २२९ वटा उद्योगमा १५ अर्ब ६४ करोड १० मात्रै लगानी प्रतिवद्धता आएको छ ।

गत वर्षको तुलनामा यो वर्ष उद्योगमा २२ अर्ब ४० करोड रकम लगानी प्रतिबद्धतामा कमि आएको उद्योग विभागको तथ्याङ्कले देखाउँछ । तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष लगानी प्रतिबद्धता ५८ प्रतिशत कम हो ।

यता, अघिल्लो वर्षको ८ महिनामा १९४ वटा उद्योग दर्ता भएका थिए भने चालु आर्थिक वर्षको सोही अवधिमा २२९ वटा दर्ता भएका छन् । यसरी तुलना गर्दा यो वर्ष ३५ वटा बढी उद्योग दर्ता भएका छन् । तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको ८ महिनामा उद्योग दर्ता १८ प्रतिशत बृद्धि भएको देखिन्छ ।

अहिल्लो वर्षको साउनदेखि चैतसम्म उद्योगहरुमा ७ हजार ५०० जनालाई रोजगारी दिने प्रतिबद्धता थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा दर्ता भएका उद्योगहरुमा ८ हजार ३११ जनालाई रोजगारी दिने प्रतिबद्धता आएको छ ।

चालु आर्थिक वर्षको दर्ता भएका उद्योगहरु मध्ये सबैभन्दा बढी सेवामूलक प्रकृतिका छन् । सो प्रकृतिको उद्योगको संख्या ७६ वटा रहेको छ । त्यस्तै, पर्यटन क्षेत्रमा ७१ वटा, उत्पादनमूलक क्षेत्रमा ५५ वटा, कृषि तथा बन पैदावरमा आधारित ९ वटा र सञ्चार क्षेत्रमा ३५ वटा गरी २२९ वटा संख्यामा उद्योग दर्ता भएका छन् ।

२०७४ साउनदेखि चैतसम्म दर्ता भएका उद्योगहरुमध्ये सबैभन्दा बढी सेवामूलक प्रकृतिका थिए । ती मध्ये उद्योगको संख्या ७१, पर्यटन क्षेत्रमा ६१, उत्पादनमूलक क्षेत्रमा ३९, कृषि तथा बन पैदावरमा आधारित ११, उर्जा क्षेत्रमा ३, सञ्चार क्षेत्रमा ३ र इन्फर्मेसन टेक्नोलोजीको क्षेत्रमा १७ वटा गरी १९४ वटा उद्योग दर्ता भएको थिए ।

प्रत्यक्ष बैदेशिक लगानी महाशाखाका प्रमुख प्रशान्त बोहोराले अघिल्लो वर्ष हाइड्रोमा लगानी आएको थियो र लगानी बढी देखिएको थियो भने यो वर्ष हाइड्रो दर्ता नभएकोले लगानी प्रतिबद्धतामा कमी देखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.