ओली सरकारको १ वर्षः वैदेशिक लगानी प्रतिबद्धता १५० प्रतिशतले बढ्यो

  २०७५ फागुन ९ गते १३:०५     राजाराम न्यौपाने


काठमाडौं । देशमा राजनीतिक स्थिरतासँगै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बृद्धि भएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार वैदेशिक लगानीको प्रतिबद्धता १५० प्रतिशतले बृद्धि भएको हो ।

२०७४ फागुनदेखी २०७५ फागुनसम्म ५२ अर्ब ६३ कराडको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । २०७३ फागुनदेखी २०७४ फागुनसम्म २० अर्ब ९६ करोड ९० लाखको मात्रै प्रतिवद्धता आएको विभागको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको तुलनामा गतवर्षको लगानी प्रतिबद्धता झन्डै ३ गुणाले बढी हो ।

२०७४ फागुनदेखी २०७५ फागुनसम्म ५२ अर्ब ६३ करोड लागतका ४ सय ३१ उद्योगमा लगानी प्रतिबद्धता आएका हो । यी उद्योगले १४ हजार ५६० लाई रोजगारी दिने छन् । २०७३ फागुन देखी २०७४ फागुनसम्म आएको वैदेशिक लगानी प्रतिबद्धताबाट ३८० वटा उद्योग खुल्ने र त्यहाँ १३ हजार ९४ नयाँ रोजगारी थपिने छ ।

विभागले कृषिजन्य, निर्माण, ऊर्जा, सूचना प्रशारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज, सेवा तथा पर्यटन क्षेत्रमा यो लगानीको प्रतिबद्धता स्वीकृत गरेको छ । २०७४ फागुन देखी २०७५ फागुनसम्म पर्यटनमा १७०, सेवा १३२, उत्पादनमूलक ६६, सूचना प्रविधि २३, कृषि तथा वनजन्य १७, ऊर्जा ३ र खानीमा ३ उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको छ ।

नेपालमा दुई तिहाईको स्थिर सरकार गठन भएदेखि नै वैदेशिक लगानीको प्रस्ताव बढ्दै गएको उद्योग विभाग वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण महाशाखाका निर्देशक प्रशान्त बोहोराले जानकारी दिए ।

उनका अनुसार आर्थिक बर्ष २०७४/७५ को ६ महिनाको तुलनामा चालु आबको सोही अवधिमा वैदेशिक लगानी केहि मात्रामा घटेको देखिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेदेखिको १ बर्षको अबधिमा भने वैदेशिक लगानी करिव ३ गुणाले बढ्दै ५२ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ फागुन ३ गते आफ्नो पदभार ग्रहण गरेका थिए । त्यस यता वैदेशिक लगानी अघिल्लो बर्षको तुलनामा ३१ अर्ब ६६ करोड रुपैयाँले बढेको छ । अघिल्लो बर्षको माघ मसान्तसम्म वैदेशिक लगानीकर्ताहरुको आकर्षण रहेको उत्पादनमुलक क्षेत्रमार्फत ८ अर्ब ४१ करोड रुपैयाँ लगानी भित्रिएको थियो ।

तर पछिल्लो १ बर्षको अवधिमा उर्जा क्षेत्रमा ३४ अर्ब ५४ करोड रुपैयाँ लगानी स्वीकृत भएको विभागको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो १ बर्षको अवधिमा उत्पादनमुलक क्षेत्रमा ६ अर्ब ४९ करोड रुपैयाँ, पर्यटन क्षेत्रमा ६ अर्ब ३६ करोड रुपैयाँ तथा सेवा क्षेत्रमा २ अर्ब ८१ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

यस्तै यो बर्ष ४ सय ३१ उद्योगमार्फत ५२ अर्ब ६३ करोड रुपैयाँ लगानीका आयोजनामा १४ हजार ५ सय ६० जनाले रोजगारीको अवसर प्राप्त गरेको विभागले जानकारी दिएको छ । अघिल्लो बर्षको सोही अवधिमा भने ३ सय ८० उद्योगमार्फत २० अर्ब ९६ करोड रुपैयाँ लगानीका आयोजनामा १३ हजार ९४ जनाले रोजगारीको अवसर पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.