लाभांश घोषणाले सेयर मूल्यमा उथलपुथल, सिटिजन्स बैंकले गुमाउँदा सोल्टी र चिलिमेले कमाए

  २०७५ मंसिर २६ गते १५:१६     विकासन्युज

काठमाडौं । नेप्सेमा सूचिकृत कम्पनीहरुको लाभांश घोषणासँगै सेयर मूल्यमा पनि उच्च उतार चढाव देखिएको छ । बुधबार केही कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ भने केहीमा उच्च गिरावट देखिएको छ ।

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि सेयरको मूल्य प्रतिकित्ता ४१ रुपैयाँले बढेको छ ।

मंगलबार प्रतिकित्ता ६०८ रुपैयाँमा कारोबार भएको सेयर बुधबार प्रतिकित्ता ६५२ रुपैयाँसम्म कारोबार भएको छ । बन्द हुँदा ६४९ रुपैयाँमा कारोबार भयो ।

बुधबार सोल्टी होटलको सेयर मूल्य प्रतिकित्ता ७६ रुपैयाँले बढ्यो । मंगलबार १३० रुपैयाँमा कारोबार बन्द भएको यस कम्पनीको सेयर बुधबार २०६ रुपैयाँमा कारोबार बन्द भयो ।

सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य २२४ बाट २१५ रुपैयाँमा झरेको छ । बैंकले ३.६२ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद लाभांश घोषणा गरेपछि सेयर मूल्यमा गिरावट आएको हो ।

बुधबार दिनभर रातो देखिएको नेप्से बन्द हुने बेलामा हरियो भयो तर शुन्य दशमलव शुन्य ८ अंकले मात्र बढेको छ । सो दिन कुल १५६ कम्पनीको २६ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्सको प्रमोटर सेयर बिक्री भएको छ । कम्पनीको एकैदिन ४ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २५० रुपैयाँ रहेको छ ।

बजारमा कारोबारमा आएका १० समूह मध्ये ५ समूह हरिया भएका छन् भने ५ वटा समूह राता भएका छन् । हाइड्रोपावर ३५, जीवन बीमा २३, फाइनान्स ३, उत्पादनमूलक १.५२ र अन्य समूह ०.६२ अंकले बढेका छन् । बाँकी होटल ३७.२७, निर्जीवन बीमा १०.६२, माइक्रोफाइनान्स ८.४६, डेभलपमेन्ट बैंक २.५७ र बैंकिङ् समूह १.३३ अंकले घटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.