राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

  २०८१ जेठ २९ गते १९:०१     विकासन्युज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् ।

उनले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन् ।

भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट संघीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

जेनेभा र बर्लिन भ्रमणमा राष्ट्रपति पौडेलकी श्रीमती सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू सहभागी छन् ।

राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.