कोशी प्रदेशका ४५ प्रतिशत जनसंख्या बीमाको पहुँचमा

  २०८१ जेठ २९ गते १७:२४     विकासन्युज

काठमाडौं । कोशी प्रदेशमा ४५.१६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा उक्त जानकारी उल्लेख छ ।

त्यस्तै हाल देशभरि बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार ५ सय ९४ वटा रहेकामा कोशी प्रदेशमा मात्र १६.०६ प्रतिशत अर्थात् १ हजार ८ सय ६२ वटा शाखा छन् ।

बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपको ७.१३ प्रतिशत अर्थात् ४ खर्ब ४१ अर्ब रुपैयाँ बराबर कोशी प्रदेशमा छ । त्यस्तै कुल कर्जाको ११.२६ प्रतिशत अर्थात् ५ खर्ब ७२ अर्ब रुपैयाँ ऋण कोशी प्रदेशमा विस्तार भएको छ ।

अहिले समग्र बैंकिङ प्रणालीबाट ६१ खर्ब ८७ अर्ब रुपैयाँबराबर कर्जा र ५० खर्ब ८४ अर्ब रुपैयाँ बराबर कर्जा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।

यस प्रदेशमा २२ हजार १०७ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् । जसमा ३४ अर्ब २ करोड ५२ लाख रुपैयाँ बराबर सहुलियत कर्जा स्वीकृत भएको छ । सबैभन्दा बढी महिला उद्यमशीलता कर्जा १२ हजार ८ सय ६३ जना र व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ८ हजार ९ सय २२ जनाले लिएका छन् ।

कुल ७ लाख ७९ हजार ५ सय ८४ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको यो प्रदेशमा ७ लाख २ हजार ४१ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ भने कुल सिञ्चित क्षेत्रफल ३ लाख १५ हजार ८ सय ११ हेक्टर रहेको छ ।

चालु आर्थिक वर्ष २०८०र८१ मा कोशी प्रदेशको कूल गार्हस्थ्य उत्पादन ९ खर्ब ३ अर्ब रुपैयाँ बराबर रहने अनुमान गरिएको छ भने आर्थिक वृद्धिदर ३.५१ प्रतिशत अनुमान गरिएको छ ।

कोशी प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ३ सय ३६ अमेरिकी डलर बराबर छ । त्यस्तै, गरिबी दर १७.१९ र बहुआयामिक गरिबी १५.९ प्रतिशत रहेको छ ।

मुलुकको कुल वैदेशिक व्यापारमा कोशी प्रदेशको आयातको हिस्सा १४.४४ र निर्यात हिस्सा ३९.०६ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.