२०८१ जेठ २९ गते १६:५६ विकासन्युज
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती नगरपालिकाका मेयर भरतबहादुर थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगमा मेयर थापासहित उपमेयर लीलाकुमारी मोक्तान, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध मंगलबार भरत ताल निर्माणको आवरणमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगमा विशेष अदालतमा ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ ।
आरोपित सबैलाई कायम भएको बिगो छुट्टाछुट्टै असुल गर्नुपर्ने अख्तियारको माग छ । उनीहरूविरुद्ध ३ वटा कसुर लगाइएको अख्तियारले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.